यी दुई कलाकारको हुँदैछ आमनेसामने !

नेपाली चलचित्र क्षेत्रका चर्चित दुई लिडिङ कलाकार हुन् अनमोल केसी र प्रदीप खड्का ।

यी २ कलाकारलाई एकअर्काको कडा प्रतिस्पर्धी भन्ने गरिन्छ । दुवै कलाकारले अहिलेसम्म संख्यात्मक हिसाबले बराबर चलचित्र खेलिसकेका छन् । अनमोलले ‘होस्टेल’, ‘जेरी’, ‘गाजलु’, ‘ड्रिम्स’ र ‘कृ’ चलचित्र आफ्नो भूमिका प्रस्तुत गरिसकेका छन् भने प्रदीपको स्केप, प्रेमगीत, प्रेमगीत २, लिलिबिली र रोज चलचित्रमा आफ्नो मूख्य भूमिका निर्वाह गरिसकेका छन् । दुबै स्टार कलाकार अहिले छैटौं प्रोजेक्टमा व्यस्त छन् । अनमोलको चलचित्र क्याप्टेन र प्रदीपको ‘लभ स्टेशन’ यसवर्ष प्रदर्शनमा आउने नेपाली चलचित्र हुन् । दुई अभिनेतालाई नामले नै फिल्म चलाउने सक्ने सामर्थ रहेको भन्ने गरिन्छ ।

यसपटक नेपाली फिल्मका दुई गिनेचुनेका अभिनेताको बक्सअफिस भिडन्त हुने चर्चा बजारमा सुरु हुन थालेको छ । महाशिवरात्रीको छेको अर्थात् फागुन १७ गतेलाई चलचित्र ‘क्याप्टेन’ को रिलिज कन्फर्म गरिएको छ । प्राप्त जानकारी अनुसार, ‘लभ स्टेशन’ पनि उक्त डेटमा रिलिज हुने तरखरमा छ ।

निर्माताबाट यसको औपचारिक जानकारी भने प्राप्त भएको छैन । पहिलो हप्ता शनिबार सहित तीन दिन र दोस्रो हप्ता शनिबार सहित दुई बिदा खान पाइने हुँदा ‘क्याप्टेन’ ले उक्त मिति प्रदर्शनका लागि रोजेको हो ।

‘लभ स्टेशन’ को भने यसअघि फागुन २४ गतेलाई प्रदर्शन मिति तोकिएको छ । तर, शिवरात्रीको सार्वजनिक दिन छोप्न उक्त फिल्मलाई एक हप्ता अगाडि नै रिलिज गर्ने सोचमा निर्माण टिम छ ।

यदि ‘क्याप्टेन’ र ‘लभ स्टेशन’ एकसाथ रिलिज भए यो यसवर्षकै सबैभन्दा ठूलो भीडन्त हुनेछ । दुई चलचित्रको भिडन्तले अनमोल र प्रदीपको स्टारडम पनि मापन गर्नेछ । दुवै चलचित्रका वितरक मनोज राठी भएका कारण ‘क्याप्टेन’ र ‘लभ स्टेशन’को भीडन्त टर्न सक्ने फिल्मी पण्डितहरु बताउँछन् ।

तर, फागुन १७ मा अरु तीन प्रतिक्षीत फिल्म पनि रिलिज हुने चर्चा छ । अभिनेता विपिन कार्कीको ‘जात्रै जात्रा’, अभिनेता सलिनमान बनियाँको फिल्म ‘यात्रा’ र चर्चित पुस्तक ‘समर लभ’माथि निर्माण भएको चलचित्र रिलिज हुने तयारीमा रहेको खबर छ । ‘जात्रै जात्रा’को प्रदर्शन मिति निर्माता रविन्द्र सिंह बानियाँले शनिबार निर्देशक प्रदीप भट्टराईको जन्मदिन मनाउँदै फागुन १७ लाई तोकेका छन् ।

चलचित्र ‘यात्रा’ का निर्माता केशव भट्टराईले रिलिजलाई लिएर टुंगो नभएको बताएका छन् । ‘समर लभ’ का निर्देशक मुस्कान ढकालले भने तयारी फागुन १७ को भइरहेको बताए । ‘फिल्मको बजेट हाई छ । फिल्मका लागि उचित डेट मैले त्यही नै रोजेको हुँ । अहिले वितरकसँग कुरा भइरहेको छ’, ढकालले भने ।

निर्माता–निर्माताबीच प्रदर्शन मितिलाई लिएर सहमति नजुटे फागुन १७ मा यसवर्षको सबैभन्दा ठूलो महासंग्राम हुने तय छ । हल र दर्शक संख्याका हिसाबले एकैसाता एकभन्दा बढी फिल्म रिलिज हुनुलाई व्यापारिकरूपमा जोखिमपूर्ण मानिन्छ ।

अब शिवरात्रीको छेकोमा रिलिज हुने चर्चामा रहेका चलचित्रहरु विस्तारै कुन–कुन पाखा लाग्दै जानेछन् र कुन–कुन चलचित्रको भिडन्त हुनेछ ? त्यो हेर्न भने निकै रोचक हुने छ ।

कमेन्ट गर्नुहोस्