नेपालद्वारा भुटानलाई १५१ रनको लक्ष्य, प्रदिपले बनाए नटआउट ७५ रन

काठमाडौं, असोज २३ । मलेसियामा जारी आइसिसी विश्व टी-२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’ को चौथो खेलमा नेपालले भुटानलाई १५१ रनको लक्ष्य दिएको छ ।

 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५० रन बनायो । नेपालका लागि प्रदीप ऐरीले अर्धसतकीय पारी खेले । ६८ बल खेलेका ऐरीले २ छक्का र ६ चौकासहित ७५ रनमा नटआउट रहे ।

 

अनिल शाहले २७ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १५ तथा आरिफ शेखले १३ रन जोडे । करण केसीले ५ बलमा ११ रन जोडे । यसअघि नेपालले म्यान्मार, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ ।

 

असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिने छन् ।

कमेन्ट गर्नुहोस्