दशैंमा नयाँ कपडाः घर–घरमा झगडा

बुटवल, असोज २४ । गुल्मी ईस्माका चिन्तबहादुर दर्जी त्यस भेगमा कहलाएका लुगा सिलाउने सिपालु व्यक्ति हुन् ।

विवाहदेखि चाडपर्वहरुमा उनको पसलमा कोट–पाईन्टदेखि हरेक कपडा सिलाउनेहरुको भीड बढेकै हुन्छ । व्यस्तताका बावजुद पनि यसपालिको दशैंमा उनले छोरालाई छाँटिलो कोट–पाईन्ट र छोरीहरुलाई पनि त्यस्तै भलाद्मी कपडा सिलाई दिन चाहन्छन ।

तर, उनैका छोराछोरीलाई बाबुले सिलाएको कपडा लगाउने मन छैन । उनीहरुको रहर उनै रेडिमेड कपडामा छ । उनीहरुले मोबाइलमार्फत आफूहरुलाई रहर लागेका ती रेडिमेड कपडाहरुको फोटाहरु देखाउँदै बाबुलाई किनी दिन कर लगाइरहेका छन ।

उनीहरुले देखाउने ती कपडाहरु हेरेपछि चिन्ताबहादुर उनीहरुसँग रिसले आगो हुँदै भन्छन– ‘होइन, कस्तो बुद्धि भुटिएको हो, तिमीहरुको ? दशैंमा त नयाँ कपडा लगाउने होला क्यारे, यस्ता दश ठाउँ फाटेका पनि कहीँ लगाउँछन ? म त यस्ता कपडा एक किन्दिनँ दुई किन्दिँन, गए जाउ राम–रमितामा नगए नजाउ ।’

उनका छोराछोरी पनि के कम ? छोराछोरीहरु एकै मुख लगाएर बाबुलाई भन्छन– ‘कहिलै शहर बजारको मुख देखेको भए पो थाहा हुन्थ्यो कि अहिले कस्तो फेशन आएको छ र छोराछोरीलाई त्यही अनुसारको किनी दिनुपर्छ भन्ने थाहा हुन्थ्यो क्यारे ! किन्ने भए किनिदिने नत्र गाग्री ताउँलो टिपेर आफैंले किन्न नपरोस् । ’

पछिल्लो चरण दश ठाउँ प्वाल परेका पाईन्टहरु किनेर लगाउन खोज्ने नयाँ पुस्ता र पुराना पुस्ताबीच अन्य घरमा पनि झगडा चल्ने गरेको छ । घरमा झगडा मात्र होइन, सामाजिक सञ्जालमा पुरानो पुस्ताले व्यंग्य समेत गर्ने गरेका छन । सामाजिक सञ्जालमा एकजना लेख्छन– ‘प्वाल परेको पाइन्ट लगाउँदा किरा फट्याङ्ग्रा पस्ने हुन् कि ? जुकाहरुहरुको आजकल बिगबिगी छ , कतै जुकाहरु समेत लुत्त छिरेर रक्ताम्मे पार्ने हुन कि ? चिसोयाममा चिसो पसेर थरथरी कपाउने र गर्मीमा घामले पोलेर असिना पसिना पो पार्ने हो कि …? ’

नयाँ पुस्ताले भने यस्तो ब्याङ्गकारलाई ढुङ्गे युगक हजुरबुवा, हजुर आमाहरुको संज्ञा दिँदै आएका छन । शहरका सिलाई ब्यवसायीहरु भने विगत केही वर्षयता युवापुस्ता समेत कोट पाईन्ट र दौरा सुरुवाल लगायतका भलाद्मी कपडा लगाउनमा बढी आकर्षित हुने गरेको बताउँछन ।

बुटवलमा युवा पत्रकार तिलक महत भन्छन– ‘असोज २६ गते मलाई विवाहमा जन्त जाने निम्तो छ । त्यसैले म दौरा सुरुवाल सिलाउन अर्डर गरेको छु । त्यही दौरा सुरुवाल दशैंमा पनि लगाएर कोट मन्दिरको राम–रमितामा जाने रहर जागेको छ । ’

बुटवल नेपालगञ्ज रोडस्थित श्रेष्ठ टेलरिङका सञ्चालक जीवन परियार भन्छन– ‘रेडिमेड कपडा रुचाउने युवाहरुको एउटा सानो पंक्तिमात्रै छ । अन्य धेरै युवाहरु कोट पाईन्ट र दौरा सुरुवालमा बढी आकर्षित हुँदै आएका छन । मलगायत थुप्रै सिलाई कटाई व्यवसायीहरुलाई तीजदेखि यता कपडा सिलाउनको भ्याई नभ्याईमा छौं ।’

तर ग्रामिण भेगमा सिलाई ब्यावसायीहरु केही वर्षयता कतिपय त्यस पेशाबाट पलायन भइसकेका छन् भने बुढापाकाहरु फाटेका कपडा र भुल्ला तुन्ने काममा मात्रै सीमित भएका छन । शहरमा यतिबेला काँचो कपडा किन्ने पसलमा सुनसान देखिन्छ भने फेन्सी पसलमा भीडभाड बढेको छ ।

तस्वीरः दशैमा नयाँ कपडाः यस्तो ब्याङ्ग गर्दै फेशबुकमा पोष्ट गरिएको एक तस्वीर

कमेन्ट गर्नुहोस्