‘पार्टीभित्र वामदेव कामरेड चुनाव लड्ने आधिकारिक निर्णय भएकाे छैन’

काठमाडौं, असोज २४ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य रघुवीर महासेठले वामदेव गौतम चुनाव लड्ने भनेर पार्टीभित्र आधिकारिक निर्णय नभएको बताएका छन् ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने, ‘वामदेव कामरेड चुनाव लड्ने भनेर न पार्टीभित्र आधिकारिक निर्णय भएको छ, न त उहाँ आफैले निर्णय गर्नुभएको छ । उहाँ चुनाव लड्न तयार हुनुभयो भने उहाँको लागि छोड्न माननीयहरु तयार हुनुहुन्छ ।’

मन्त्री महासेठले मिडियामा आएको कुरा सत्य नभएको बताए । उनले भने, ‘वामदेव कामरेड चुनाव लड्ने भनेर पार्टीभित्र निर्णय भएको छैन् । उहाँले देशको परिस्थिति बुझ्नुभएको छ । पार्टीका नेता, कार्यकर्ताको मनोभावना बुझ्नुभएको छ । तर, उहाँ चुनाव लड्नुहुन्छ भनेर मलाई चाहिँ व्यक्तिगत रुपमा विश्वास छैन् । यदि लड्नुभयो भने उहाँलाई सिंगो पार्टी एक भएर विजयी बनाउँछौँ ।’

उनले सांसद रामवीर मानन्धरले राजीनामा दिने घोषणा गरेपनि राजीनामा दिइनसकेको बताए । उनले भने, ‘उहाँले राजीनामा दिन जरुरी पनि छैन् । जबसम्म पार्टीको निर्णय हुँदैन्, तबसम्म राजीनामा दिन जरुरी छैन् । पार्टीले निर्णय गर्यो भने म पनि छोड्न तयार छु । पार्टीले निर्णय गरे हामी जोसुकै निर्वाचित सांसद पनि छोड्न तयार छौं । हाम्रो पार्टीको निर्णय अगाडि व्यक्तिको केही चल्दैन् ।’

कमेन्ट गर्नुहोस्