पशुबलि नगर्न आग्रह गर्दै राजधानीमा वृहद मोटरसाइकल ऱ्याली

काठमाडौँ, असोज २४ । श्रीकृष्ण प्रणामी युवा परिषदको आयोजनामा विभिन्न धार्मिक तथा सामाजिक संघ-संस्थाहरूले राजधानीमा पशुबलि रहित अहिंसामे दसैँ मनाउन आग्रह गर्दै बृहत मोटरसाइकल ऱ्यालीको आयोजना गरेको छ ।

उक्त ऱ्याली उपत्यकाका तीनै जिल्लाका विभिन्न मठ-मन्दिर हुँदै जैन मन्दिरमा पुगी एक गोष्ठी आयोजना गर्दै समापन गरिएको थियो ।  समापनका अवसरमा आयोजित उक्त अहिंसा गोष्ठीलाई नेपाली कांग्रेसका नेता एवं पूर्व मात्री डा.प्रकाशशरण महत लगायतले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा महतले हत्या, हिंसा, बलात्कार जस्ता सामाजिक विकृति न्युनीकरण गर्न शाकाहारी भोजनको ठुलो महत्व रहने बताएक थिए ।

महतले महात्मा गान्धीको अहिंसा अभियान सफल हुन पनि उनको शाकाहारी जीवन पद्धतिले प्रेरणा दिएको र समाजलाई शान्त, सद्भाव, प्रेम, दया, करुणा, भाइचारा अभिबृद्धि गर्न शाकाहारले ठुलो योगदान गर्ने बताए ।

बलिका नाममा जीवजन्तुको हत्या गर्नु भन्दा आफूमा रहेका काम, क्रोध, लोभ, अहङ्कार जस्ता अवगुणहरूको बलि दिनु उत्तम हुने महतले बताए ।

यसै गरी श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका अध्यक्ष श्याम केसीले हिन्दू धर्मका गीता र भागवत जस्ता मूल ग्रन्थहरूमा पशुबलि गर्नु पर्छ भन्ने कतै उल्लेख नभएको र मठमन्दिरमा बलिका नाममा अबोध पशुको हत्या गर्न नहुने विचार व्यक्त गरे ।

त्यस्तै श्रीकृष्ण प्रणामी युवा परिषदका अध्यक्ष नवराज ढकालले सार्वजनिक स्थल, मठ मन्दिरहरूमा पशु-पन्छीको बलि दिनु गलत कार्य भएको र त्यस्कोसातो आफूभित्रका दुर्गुणहरुको बलिदिई देवीलाई प्रसन्न पार्न सकिने बताए ।

सो समारोहमा पुरातत्व विभागका महानिर्देशक भेषराज दाहालले सभ्य समाजका लागि शाकाहारी जीवन आधारशिला रहेको भन्दै विश्वमै शाकाहारप्रति बढ्दो आकर्षण बढ्दो क्रममा रहेको समेत उल्लेख गरे ।

समारोहमा शाकाहारी संघका अध्यक्ष हरिकुमार सिलवाल, तेरा पन्थ महिला संघकी अध्यक्ष मन्जु जैन, नेपाल अणुव्रतका अध्यक्ष ज्योतीकुमार बेगानी लगायतका वक्ताहरुले अहिंसा र शाकाहारका बारेमा बोलेका थिए ।

सो अवसरमा भारत मुम्बईको महाजन समाजबाट श्रीकृष्ण प्रणामी युवा परिषदलाई अहिंसा अभियानका लागि १० थान साउण्ड सिस्टम समेत हस्तान्तरण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्