अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उच्च छः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, असोज २४ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शान्ति प्रक्रियाले पूर्णता पाएसँगै अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उच्च बनेको बताएका छन् ।

 

 

गुल्मेली समाजले काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संयुक्त राष्ट्रसङ्घको हालै सम्पन्न महासभाका सभापतिले समापन मन्तव्यका क्रममा नेपालको प्रधानमन्त्रीलाई सम्बोधन गरेको स्मरण गर्दै नेपाल अन्तर्राष्ट्रियरुपमै उद्यृत गर्न लायक देश बनेको धारणा व्यक्त गरे ।

 

 

मन्त्री ज्ञवालीले शान्ति प्रक्रिया पूरा भएसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रोफाइल बढेको उल्लेख गर्दै नेपालले शान्तिपूर्ण ढङ्गबाट र मौलिक ढङ्गले ठूलाठूला परिवर्तन हासिल गरेको कुरा अन्तर्राष्ट्रियस्तरमा बाँड्ने मौका पाएकामा खुशी व्यक्त गरे ।

 

 

अफगानिस्तान र वर्माको टोली नेपालको शान्ति प्रक्रियाबाट सिक्नका लागि भनेर डेलिगेसन आएको स्मरण गर्दै उनले मंगलबार मात्रै सुडानबाट आएको टोलीले आफ्नो शान्तिवार्ताको प्रायोजन गरिदिन, यदि नभए हेरिदिन आग्रह गरेकोसमेत बताए । चाडबाडले समाजलाई एकतामा बाँध्ने भएकाले चाडपर्व संरक्षण गर्नुपर्नेमा मन्त्री ज्ञवालीले जोड दिए ।

 

 

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुकको समृद्धिका लागि सबै मिलेर कार्य गर्नुपर्ने बताउँदै समृद्धिका लागि चुनावमा जस्तो पक्ष र प्रतिपक्षमा नबसी दलीय स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड दिए । -रासस

कमेन्ट गर्नुहोस्