कांग्रेसले चुनावमा गलत हल्ला फैलाउँदा जेष्ठ नागरिकले वृद्ध भत्ता पाएनन्

बझाङ, असोज २५ । जिल्लाको ‍सुर्मा गाउँपालिका २ वारिआनाका वीरजित बोहरा उमेरले ७५ वर्ष भए  । नागरिकतामा भने उनी बल्ल ६२ वर्षका भए  । २००१ सालमा जन्मेका उनले मारिने डरले नागरिकतामा उमेर घटाएको बताए ।

 

‘०४७ सालतिर हो क्यारे । गाउँमा नागरिकता वितरण टोली आएको थियो । त्यसताका अब बहुदल आयो, ६० वर्ष पुगेकालाई गोली ठोकेर मार्छन् भन्ने हल्ला खुबै चलेको थियो,’ उनले भने, ‘छिट्टै मारिने डरले ५० हाराहारी पुगेका यस गाउँका सबैजसोले नागरिकतामा उमेर घटायौं ।’

 

त्यसबेला आफ्नो गाउँका २५ भन्दा बढी ४५ वर्ष कटेकाले उमेर घटाएको उनले सुनाए । गोली हानेर मार्ने हल्लाबारे धेरैपछि मात्र भेउ पाएका ७२ वर्षीय सिउमल बोहराले भने, ‘कांग्रेस र कम्युनिस्टहरू चुनाव लड्दै रहेछन् । कम्युनिस्टलाई भोट नहाल्लान् भनेर कांग्रेसका मान्छेले यस्तो झुटो हल्ला फैलाएका रहेछन् । पछि मात्र थाहा पायौं ।’

 

उनले त्यसबेला वारिआनामात्र नभएर साबिकको सुर्मा र दौलीचौर गाउँका डेढ सयभन्दा बढीले उमेर घटाएर नागरिकता बनाएको बताए । आफूहरू अनपढ भएका कारण हल्ला पत्याएको उनी सम्झन्छन् ।

 

 

‘त्यसबेला दुई गाविसभरिमा एक जनाको घरमा मात्र रेडियो थियो । गाउँमा लेखपढ गर्न जान्ने थोरै मात्र थिए,’ उनले भने, ‘देशमा के भएको छ भनेर थाहा पाउने कोही थिएन । कताबाट हल्ला पस्यो कुन्नि सबैले पत्यायौं ।’ उतिबेला मारिने डरले उमेर घटाएका वृद्धवृद्धामध्ये धेरैजसोको निधन भइसकेको छ ।

 

जति जीवित छन् उनीहरू पनि उमेर घटाएकामा पछुतो मानिरहेका छन् । ‘हामीभन्दा १०-१२ वर्ष कान्छाले पनि वृद्ध भत्ता थापिसके,’ ८० वर्षीय ढोकल बोहराले भने, ‘हामी भने सरकारले दिएको सुविधाबाट अझै वञ्चित छौं ।’ उमेरले ८० पुगेको भए पनि नागरिकताअनुसार उनी अहिले ६७ वर्षका मात्र भए ।

 

७९ वर्षीय जयधन बोहराले ठट्यौलो पारामा ढोकललाई प्रश्न गरे, ‘उति बेला जवान हुन मन लाग्यो । अहिले बूढो भएँ भन्दै रोएर हुन्छ ?’ कुराकानीका क्रममा आफूले उमेर घटाएकामा निकै पछुतो लागेको उनी बताउँछन् । ‘अहिले हामीभन्दा कान्छा धेरैले वृद्ध भत्ता खाइरहेका छन्,’ उनले भने, ‘उनीहरूले आफूलाई चाहिएको सानोतिनो खर्चमा छोराछोरीको मुख ताक्नुपर्दैन ।’ आफूहरू पनि भत्ता बुझ्ने भइदिएको भए सानोतिनो खर्चमा बचन सुन्न नपर्ने उनी बताउँछन् ।

 

साबिकको सुर्मा र दौलिचौर गाविसलाई गाभेर बनाइएको सुर्मा गाउँपालिका जिल्लाको विकट र पिछडिएको स्थानीय तह हो । अहिले पनि यो गाउँपालिका साक्षरताका हिसाबले अरूको तुलनामा निकै तल छ । यहाँको पुरुष ५३ प्रतिशत र महिला साक्षरता दर २८ प्रतिशत छ । जबकि ०६८ को जनगणनाअनुसार समग्र जिल्लाको पुरुष साक्षरता दर ७२.९० र महिला साक्षरता ४०.१२ प्रतिशत थियो । कान्तिपुर दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्