किन खोजिन्छ दसैंमा नयाँ नोट ? कारण जान्नुहोस्

काठमाडौं, असोज २७ । दसैंकै लागि भनेर नयाँ नोट छाप्न र साट्न कहिलेबाट थालियो होला ? यसको यकिन जवाफ सम्बन्धित निकाय नेपाल राष्ट्र बैंकसँग पनि छैन ।

 

 

राष्ट्र बैंक मात्रै होइन, अधिकांश समाजशास्त्री, संस्कृतिविद्, इतिहासविद् तथा सरोकारवाला पनि दसैँमा नयाँ नोट प्रयोग गर्ने प्रचलन कहिलेबाट सुरु भएको हो भन्ने तिथिमिति भन्न सक्दैनन् । यद्यपि, नेपालमा नोटको प्रचलन सुरु भएदेखि नै दसैँमा नयाँ नोट प्रयोग गर्ने चलनचल्ती बसेको हुन सक्ने उनीहरू बताउँछन् ।

 

 

नेपालमा नोट छाप्न सुरु भएदेखि नै दसैंमा नयाँ नोट प्रयोग गर्ने प्रचलन सुरु भएको हुन सक्ने संस्कृतविद् सह–प्रा.डा. जगमान गुरुङ बताउँछन् ।

 

 

‘त्यतिवेला शासक तथा पहुँच भएकाहरूले नयाँ नोट प्रयोग गरे होलान्, त्यसपछि क्रमशः अरूले पनि प्रयोग गर्न थालेको हुन सक्छ,’ उनी भन्छन्, ‘अहिले दसैँमा नयाँ नोट साट्ने संस्कृति नै बनिसकेको छ ।’

 

 

दसैंमा नयाँ लुगा लगाउने, नयाँ खानेकुरा खाने, नयाँ वस्तुको खरिद तथा उपभोग गर्ने संस्कारसँगै नयाँ नोट प्रयोग गर्ने चलनको विकास भएको समाजशास्त्री टीकाराम गौतम बताउँछन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्