नेपाल आइडलका प्रतिस्पर्धी रवि वड धनगढी जाँदै

काठमाडौं, असोज २७ । सर्वाधिक रुचाइएको ‘सांगितीक रियालिटी सो’ नेपाल आइडल सिजन-२ मा सुदूरपश्चिमबाट एक मात्र प्रतिस्पर्धी बाँकी छन् । ती हुन्- कञ्चनपुरका रवि वड । अहिले रविको चर्चा सुदूरपश्चिममा मात्रै होइन, नेपालमा मात्र पनि होइन उनको चर्चा विदेशमा पनि शिखरमा छ ।

 

 

सुमधुर स्वरका धनी रविले नेपाल आइडलमा आफ्नो जादूमय आवाजले सबैको ध्यान तानेका छन् । र, उनको यात्रा निरन्तर बढिरहेको छ । रवि आइडलको टप ९ मा पुग्न सफल भएका छन् । बिहीबार उनले टप ९ मा पुग्नका लागि भोटको अपिल गरेका थिए । शुक्रबार सार्वजनिक नतिजाअनुसार रविको यात्रा अगाडि बढेको छ । अर्थात्, उनी उत्कृष्ट ९ प्रतिस्पर्धीभित्र स्थान बनाउन सफल भएका छन् ।

 

रविको चर्चा दिनहुँ चुलिदो छ । विशेष गरी उनका समर्थक सुदूरपश्चिमका बढी छन् । हुनत उनी नै सुदूरपश्चिमको हुन् त्यसकारण पनि रविको चर्चा सुदूरपश्चिममा व्यापक छ । तिनै चर्चाको शिखरमा पुग्न सफल रवि वड आव सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढी जाँदै छन् । आज उनी धनगढी जान लागेका हुन् । उनले त्यहाँ आफ्ना समर्थक तथा आफन्तलाई भेट्ने बताइएको छ ।

 

आइडलको पहिलो चरणदेखि नै दमदार प्रस्तुति दिदैं आएका रविले अब गृह क्षेत्रमा भोटका लागि अपिल गर्ने छन् । आगामी यात्रा सुनिश्चित गर्न धनगढीलगायत त्यहाँका विभिन्न शहरमा रवि समर्थकसँग भेटघाट गर्ने बताइएको छ । उनी सुदूरपश्चिममा झण्डै हप्तादिन बस्ने बताइएको छ ।

 

 

रवि आज साँझ पाँच बजे बुद्ध एयरको जहाँजबाट धनगढी जान लागेका छन् । उनलाई धनगढी विमानस्थलमा भव्य स्वागतका लागि सुदूरपश्चिमा भव्य तयारी भइरहेको छ ।  उनलाई स्वागत गर्न समर्थक तथा आफन्त धनगढी, महेन्द्रनगर र आसपासका क्षेत्रबाट विमानस्थल आई पुग्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्