गुर्जा हिमालमा हिमपहिरो जाँदा चार नेपालीसहित नौजना बेपत्ता

म्याग्दी, असोज २७ । जिल्लाको धौलागिरि गाउँपालिका-१ मा पर्ने गुर्जा हिमाल आरोहण गर्न गएको कोरियाली टोली हिमपहिरोमा परेको छ ।

 

 

७ हजार १९३ मिटर उचाइको गुर्जा हिमाल आरोहणमा गएका ५ जना कोरियन र ४ जना नेपाली टोली हावाहुरीका कारण बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

 

 

हिमाल आरोहणका लागि बेसक्याम्पमा बसेको टोली एक्कासि हावाहुरी आएर टेन्ट उडाएपछि बेपत्ता भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।

 

 

बेसक्याम्पमा चलेको चर्को हावाहुरीका कारण टाँगिएका त्रिपालहरु उडाएपछि आरोही टोली बेपत्ता भएको उनले जानकारी दिए । टे«किङ एजेन्सीमार्फत उद्धारका लागि हेलिकप्टर घटनास्थल पुगे पनि ल्याण्ड गर्न नसकेपछि फर्किएको डिएसपी बुढा मगरले बताए ।

 

 

हिमाल आसपासका क्षेत्रमा रहेको जङ्गलका रुख समेत हावाहुरीले भाचिँएको अवस्थामा भेटिएकाले अत्याधिक हावाहुरीले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

 

 

यसै साता मात्रै गूर्जा हिमाललगायत अन्य हिमाल आरोहणको लागि दुई टोली आधार शिविरतर्फ प्रस्थान गरेका थिए । एक दशकपछि मात्रै गुर्जा हिमाल आरोहणका लागि अनुमति दिइएको थियो ।

कमेन्ट गर्नुहोस्