गाडी दुर्घटना नगर्नुस् भन्दै ड्राइभरलाई खादा र चकलेट

भद्रपुर, २७ असोज (रासस) ः चाडपर्वका बेला सडकमा सवारीसाधनको चाँप बढेसँगै हुनसक्ने दुर्घटना न्यूनीकरणमा टेवा पु¥याउने उद्देश्यले आज पाँच सय सवारीसाधनमा स्किटर टाँस्नुका साथै चालकलाई चकलेट प्रदान गरिएको छ ।

वीरता जेसिज, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र लेट्स रन नेपाल झापाको संयुक्त आयोजनामा दुर्घटना न्यूनीकरण महाअभियान अन्तर्गत चेतनामूलक स्टिकर टाँस्ने कार्य, यात्रुलाई पर्चा वितरण र चालकलाई राम्रोसँग सवारी चलाउन प्रेरित गर्दै चकलेट वितरण गरिएको हो ।

झापाबाट काठमाडौँ लगायतका लामो दुरीतर्फ जानेआउने तथा बिर्तामोड बसपार्कबाट इलाम, पाँचथर, ताप्लेजुङ जाने सवारीसाधनलाई लक्षित गरी उक्त अभियान सञ्चालन गरिएको छ । आयोजकले पैदलयात्रीलाई समेत पर्चा वितरण गरेका थिए ।

बिर्तामोडको पश्चिम बिसौनीमा दुबैतर्फबाट आवातजावत गर्ने सवारीसाधनलाई लक्षित गरी तीनवटा टोली तथा बसपार्कमा एउटा टोली बनाएर बिहान ६ बजेबाट उक्त अभियान सञ्चालन गरिएको छ ।

यसअघि गत असोज २ गते वीरता जेसिज र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको संयुक्त आयोजनामा दुर्घटना न्यूनीकरण महाअभियान शुभारम्भको घोषणासहित एक हजार चालकलाई खादा लगाएर सम्मान गरिएको थियो भने स्टिकर टाँस, चकलेट र पर्चा वितरण तथा सडक कविता प्रतियोगिता सम्पन्न गरिएको थियो ।

File Photo

कमेन्ट गर्नुहोस्