कथाः वेश्यासँग एक रात


कुमार बुडा

म हलभित्र फिल्मको प्रतीक्षामा थिएँ, एउटी मेरै दौंतरी लाग्ने महिलालेचाहिं घरिघरि मैतिर हेरेको आभाष पाएँ । म कसैको पनि मुखमा बारम्बार हेर्दिन । कसैले बिनाकारण घोरिएर हेरेको पनि सह्य हुँदैन । मैले छेउको सिटतर्फ झर्केको आँखाले हेरें । फिल्मको कास्टिङ सुरु भइसक्यो, मैले चाख लिएर हेर्न थालें ।

‘दाइ, पानी छ ?’ उसको बोल्ने निहुँ थियो ।

‘अहँ ।’ मैले ध्यान दिन चाहिन ।

‘दाइ, चिप्स खाने ?’ उसको मानौं फिल्मसित कुनै मतलब थिएन ।

‘हैन बहिनी, तपाईंलाई फिल्म हेर्नु छैन कि क्या हो ?’ म गम्के ।

‘जीवन फिल्मभन्दा अति भैसक्यो, के हेरिराख्नु ।’

‘उसो भए घरै बसिराख्या भए हुन्थ्यो, किन पैसा मात्र बर्बाद ? अनि अर्कालाई डिस्टर्ब पनि ।’

‘दाइ, म हलको साउण्डसिस्टमभन्दा चर्को बोलें र ?’

अहो ! कस्तो साइतमा हिंडें फिल्म हेर्न, कस्ताकस्ता मान्छेसँग परिन्छ । मैले अब नसक्ने भएँ । अब भने लाटो बनिदिन्छु ।

‘चिप्स दाइ । खाँदै हेर्दाको मजा नै बेग्लै क्या !’

म मूर्ति बनिसकेको थिएँ ।

केही बेरपछि पुनः सुरु, ‘तपाईंलाई उडुसले टोकेन ? कस्तो उडुसे हल रहेछ । तैपनि राम्रा भनिने फिल्म जति यसैमा लाग्छन् ।’
नभन्दै ढाड चिलायो, हातले छाम्दा चाला भेटियो ।

‘के गरोस् त बिचरो उडुस, गरिखाने अरु बाटो पनि त छैन ।’

‘तपाईं चुप लाग्नुहुन्छ कि म अन्त जाउँ ?’ म उठेर कराएँ ।

सबैजनाले मलाई नै हेरे । अब भने ऊ चुप लागी । क्या आनन्द ! फिल्म पनि रहस्य र रोमाञ्चले भरिएको रहेछ । मध्यान्तरपछि कौतुहलता अरु बढेर आयो ।

मैले ऊतर्फ हेर्दै नहेरी बाहिर निस्किएँ । शौचालयबाट फर्कंदा अर्थोकमा इच्छा नबसेपछि चिप्सको पाकेट नै उठाएँ ।

‘अगि त खान मान्नुभा’थेन दाइले …।’ ऊ हाँसी ।

‘अरुका अघि हात पसार्ने बानी परेन आफ्नो ।’ नचाहेरै मुखबाट फुत्कियो ।

‘उसो भए उदार र दानवीर प्रकृतिका पर्नु भो दाइ, हैन ?’ उसको दुस्साहस बढेकै थियो ।

बोली पासो भो । अबचाहिं शान्तिपूर्वक फिल्म हेर्नु पर्छ ।

‘दाइ दानवीर भएपछि नमागे पनि एक दुई पिस यता पनि फाल्नु नि ।’

रिसाउँदा रिसाउँदा म थाकिसकें । अब नरिसाइकनै उसलाई पाकेटै सुम्पेर ठाउँ सरे । यही उपाय ठिक थियो । फिल्म सकिएपछि डेरा पुग्नुभन्दा पहिले चिया पिउनु थियो । चिया पिएर जान लाग्दा पैसा चाहिँ अर्कैले तिरिसकेछ । खोजीनीति गर्दा हलमा भेटिएकी उही महिला ।

म अरु बाझ्न चाहन्नथें, चुपचाप निस्किएँ । जीवनमा पहिलो थियो यस खाले घटना । उनले छाडेको मेरो एक्लो जीवनमा सबै इच्छा आकाङ्क्षा मानौं, मरिसकेको थियो । उनले यति धेरै माया दिएर गइन्, त्यही माया थियो जिउने सहारा । जीवनमा एकमात्र केटीको पछि परियो, हामीले बिहे पनि ग¥यौं । बिहेको वर्षदिन नपुग्दै दैबले चटक्कै चुँडेर लगे उनलाई । उनीपछिका दिनहरू, वर्षहरू उनको सम्झनामा बिताएँ । समग्रमा मेरो दशा सांसारिक मोह त्यागेर हिंड्ने एउटा साधुको जस्तो थियो । म आफैंमा लीन थिएँ । मेरो तपस्यारूपी जीवन खण्डमा कोही मेनका बनेर उदाएजस्तो छ ।

‘दाइ !’ ऊ हतार गर्दै मलाई भेट्न आई । म यन्त्रचालित् ढङ्गले थामिएँ ।

‘यो तपाईंको रुमाल, पसलमा खसेछ ।’

आफ्नो वस्तुलाई मानौं, बाजले जस्तै झम्टिएँ ।

‘कोही विशेषको चिनोस्वरूप थियो ?’

‘हो ।’

‘तपाईं उता एक्लै हुनुहुन्छ, दाइ ?’

‘हो किन ? सँगै बस्ने मन छ आज ?’ बोल्नै छाडेको मभित्रको पुरुष अचानक जिस्किन पुग्छ ।

‘तीस रुपैयाँको लागि तपाईंलाई जे गर्न पनि छुट । हेर्नोस् न, पैसा नै सबथोक जान्दाजान्दै पनि अहिलेसम्म एक पैसा जोगाउन सकेको हैन ।’

‘मलाई पनि अति नै हुने खाने नसम्झनू । डेरा गएपछि थप पैसाको आश नगर्नू ।’ मभित्र बिउँतिएको ‘पुरुष चनाखो थियो ।

‘दाइ, फिल्ममा नायिका पैसाकी काल थिई र ?’

‘तिमी फिल्म हेर्दिनौ, तर फिल्म स्टोरी र साथका व्यक्तिको मनोविज्ञान राम्ररी बुझ्छौ !’

हामी बाहिर धेरै अल्मल ग¥यौं र, रातीमात्र डेरा पुग्यौं ।

‘खाना म पकाऔं, दाइ ?’

‘तिमीलाई अर्थोक पनि आउँछ ?’

‘महिला भएकीले महिलाका सबै काम आउँछन् ।’ ऊ कठोर भई ‘मायामा कोमल नारी प्रतिशोधकानिम्ति रणचण्डिका पनि बन्न सक्छे ।’

यो सम्वाद त त्यही फिल्मबाट थियो, ‘तिमी आफूलाई त्यही फिल्मकी नायिका त ठान्न थालिनौ कतै ?’

‘कथा मेरै हो ।’ उ ढुक्कले भन्छे ।

‘कथा र तिम्रो जीवन मेल खाए होलान् ।’ मेरो निष्कर्ष ।

‘कथा मेरो हो पनि, हैन पनि ।’

‘किन ? के भयो ?’

‘मैले के भन्न खोजें भने फिल्म जीवनको अंश हो । जसरी जीवनको बिट मारिंदैन, फिल्मको अन्त खोज्नु पनि व्यर्थ हो । फिल्म डाइरेक्टरलाई मैले जे सम्झें
सब निर्थक थियो । उसले त फिल्मको सुरुमै अन्त लेख्ने दुस्साहस ग¥यो । एउटा व्यक्तिले आर्थिक बाध्यताले आफ्नी प्रेमिकालाई बेच्छ, यो कस्तो विवशता हो
? फिल्म सफल भयो । समग्रमा पैसा कमाउनु मात्र सबैको उद्देश्य हुँदो रहेछ ।’

‘अहिले त कुनै डाइरेक्टरले साँच्चिकै तिम्रो कथा पर्दामा उतारेझैं कुरा ग¥यौ ।’ मैले उसलाई हाँसोमा उडाउन चाहें ।

‘किन हैन त ? भेट भएकै हो र, कथा सुन्ने इच्छा पोखेकै हो ।’

‘तिमीले भनेजति पैसा पाइनौ कथाबापत, हो ?’

‘नायिका पैसाको निम्ति मरेकी थिई भनेको ?’ ऊ झोक्किई ।
मैले ङिच्च दाँत देखाएँ ।

‘उमेश र मेरो भेट भयो अरे, बदलाको मौका खोजिरहेको ममा आफ्ना शत्रुप्रति केही माया बाँकी रहन्छ । क्षणक्षणको कस्तो समाप्ति हो, साढे दुई घण्टे लामो फिल्ममा ।’

शान्त स्वरमा भनें ‘हुनसक्छ, फिल्मका लागि उनले मेन हिरो उमेशबाट पनि राय लिए ।’

‘डाइरेक्टर र मेरो भेट एक वर्षअघि भयो अनि उमेशको मृत्यु दश वर्षअघि भएको थियो ।’

कुराकानीमै खाना तयार भयो । हामी खाना खान बस्यौं । एकलास लामो जीवनखण्डमा उनी नै फर्केर आएजस्तो लाग्यो । उस्तै हर कुरा गराइमा पोइलाई जित्न खोज्ने प्रकृति । दुईमा यतिमात्र अन्तर थियो, उनी विशुद्ध एक गृहिणी थिइन् भने अर्की वाक्पटु वेश्या ।

‘किन टोलाइराख्नुभयो दाइ ? अनायस कसैको याद आयो कि ?’

‘अब यादस्याद गरेर के फाइदा । जसलाई धेरै माया गरें, उनी नै आखिर दैबकी प्यारी भएर गइन् । ढिलोचाँडो सबैको बाटो त उही हो । अब त अलि दिनको पाहुना न हुँ आफू अनि तिमी पनि ।’

‘हो दाइ ।’

ऊ मसँग टाँस्सिन आई । कोठाको अन्धकारमा आफ्नो बिरानो एक हुँदो रहेछ । सामीप्य रातजस्तै सम्वादहीन थियो । मलाई सपनाजस्तो लाग्यो, सपनामै स्वर्गीय प्रियालाई चुमेजस्तो लाग्यो । तर यथार्थ भिन्न थियो, केही बेरमै दुबै जीवनदेखि थकित, लाचार र विवश भइसक्यौं ।

‘अघिसम्म हामी एकअर्कालाई झुक्किएर पनि छोएका थिएनौं, अहिले हेर …। हो, यही हो, जीवनको परिधि, पतन र अन्त, बुझ्यौ ?’

‘अन्तपछि पनि फेरि कहीं न कहीं सुरुवात त हुन्छ नि ।’

‘तिमीले जसमाथि विश्वास ग¥यौ, उसैले प्रेमिकाको ठाउँमा भेडाबाख्रा सम्झ्यो । आफ्नो ठाउँ फर्किजाँदा आफ्नै परिवारनले स्वीकार गरेनन् । आफ्नाले नै आफ्नो नसम्झेपछि एक्ली केटी मान्छेले यो दुनियाँमा जिउने के आधार भेट्छ । हर स्तर र स्थितिबाट सधैं शोषित र पीडित । तिमीले उमेशजस्ता प्रेमका नाममा अपराध गर्नेलाई त्यसै छाड्ने कुरा आउँदैनथ्यो । एउटा कुरा सही भो, तिमीले उसको पापको दण्ड आफ्नै हातले दिएर ऊजस्ता घृणित तत्वबाट फोहोरी हुनु परेन । तिमीलाई धन कमाउने आश पनि रहेनछ । आखिर किन त तिनै धोकेबाज पुरुषजातिको अघिपछि ?’

‘कथाको कहीं अन्त छैन भन्ने रामरी ध्यान दिनोस्, दाइ !’

‘एक रातको लागि नै होस् तर हामी एकअर्काको धेरै नजिक छौं, दम्पतिसमान । फेरि उही शब्द दाइ …।’

‘यो यात्रा, यो पेसामा केवल शरीरको भाषा हुन्छ । वेश्यासँग राजी हुनेहरूकानिम्ति शाब्दिक र तहगत पर्खाल रहन्नन् । मन्त्री, सिडियो र अन्य भनेर बाँकी रहन्नन् । एकछिनलाई घिनलाग्दा बन्ने त हुन् सबै ।’

‘तिमी र डाइरेक्टरको भेट कसरी भयो ? कतै तिमी ऊसित …? यस्तोमा कसरी आत्मकथा सुनाउन भ्यायौ ?’

‘वेश्याको पनि इज्जतै नहुने कुरा हैन । उसले ‘नाईं’ भनेको खण्डमा कस्तैको पनि केही लाग्दैन । त्यसैले पनि स्वार्थपूर्तिका निम्ति वेश्यासामु झुकेकै हुन्छन् सबै, चाहे त्यसपछि वेश्याको बासभित्र ऊ थुकेर जाओस् ।’

‘कसैले तिमीलाई तिम्रो आत्मा बुझेर साँच्चिकै माया गर्छु भन्न आए भने ?’

‘मेरो आत्मा कसले बुझ्नुपर्ने ? मैले त सबै पुरुषलाई एउटै भीरबाट लडाउनु पर्ने ठानिसकें ।’

‘तिमीले मलाई पनि त्यसै क्याटेगोरीमा राखिसक्यौ होला । मेरो पत्नीको मृत्यु भएको आठ वर्ष भइसक्यो । तिमीसँगको मात्र घटना हो यो, नत्र आजसम्म कसैको अनुहार नियाल्ने प्रयत्न मबाट भएन ।’

‘पुरुषको सीमा गिर्नु हो । आखिर त्यो सत्य साबित भएकै छ । तपाईं त अझै ठूला अपराधी, दिवंगत पत्नीको आत्मालाई त झुक्याउन सक्नुभएन, एकाङ्की जीवनको ढोङ गरेर समाजलाई ठगिसक्नुभो ।’

मैले लामो साँस फेरें ‘उसो भए दैबले मेरा लागि कतै कुदिन छुट्याए होलान् कि तिमी आफैं त्यसको व्यवस्था गरेर हिंडेकी छौ ?’

‘मैले भनिसकें जीवनको अन्त छैन । सायद कथाको सुरुवात गर्न दैबले मलाई नै योग्य ठाने ।’

‘सबैभन्दा ठूलो अपराधी म, ल तिमी ठूलै सजाय तोक । उसै पनि म एक्लो …।’

‘दैबले हिजोकी निरीह गाउँले केटीमा यति क्षमता त विकसित गरिदिए कि म सामुको व्यक्तिलाई आफ्नो इच्छामुताबिक ढाल्न सकुँ । मन्त्री, फिल्म डाइरेक्टर, परिवार धनीदेखि पत्नी गुमाउनेसम्म सबैका लागि एउटै मापदण्ड छ । अपराध गर्ने अपराधी नै हुन् । नारीलाई वस्तुका रूपमा लिने सङ्किर्ण मानसिकताहरू ।’

रात धेरै बितिसक्यो, कुरैकुरामा कुनबेला उसको काखमा भुस्स निदाएछु । बिहान घाम माथि आउँदा निद्रा खुल्यो । झ्याँल ढोका सबै खुला थिए । उसको अत्तोपत्तो थिएन । टेबलमा एउटा पुरानो कार्ड थियो, यो उसैको हुनुपर्छ । रक्त परिक्षणको विवरण रहेको त्यस कार्डअनुसार ऊ पाँच वर्षदेखि एचआइभी पोजिटिभ थिई ।

प्रकाशित मिति : २०७५-श्रावण-२८ ११:५१

कमेन्ट गर्नुहोस्