बैतडीमा कोदो र मादुरो बाली लोप हुँदै

बैतडी, असोज २७ । बैतडीको मध्यपहाडी क्षेत्रमा पछिल्लो समयमा कोदो, मादुरोजस्ता पुराना बाली लोप हुन थालेका छन । कोदो, मादुरोजस्ता बालीमा प्रशस्त मात्रामा पोषक तत्व पाइने भए पनि बालीको महत्व नबुझ्दा लोप हुन थालेका हुन्।

 

 

पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेका हुन । केही वर्षअघिसम्म पनि सुदुरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङ र बाजुरालगायतका उच्चपहाडी तथा हिमाली भेगमा प्रशस्त मात्रामा कोदो र मादुरोको खेती गरिन्थ्यो ।

 

 

यस्तै कुनै समय बैतडीका किसानको खेतबारीमा पनि प्रशस्त उत्पादन हुने कोदो र मादुरो खेती अहिले लोप भइसकेको छ । अन्नहरूमध्ये स्वास्थ्यका लागि निकै फाइदाजनक मानिने कोदो र मादुरो फलेको अहिले सायदै देख्न पाइने गरेको बैतडीको सुर्नया ३ का प्रेमसागर भट्टको भनाइ छ ।

 

 

आयतित खाद्यान्नका सामग्रीमा पोषक तत्व नपाइने भएकाले पछिल्लो समयमा बालबालिकामा कुपोषण देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिए । कोदो, मादुरो, भटमासलगायतका बालीमा प्रशस्त मात्रामा पोषक तत्व पाइने भएपनि यसको महत्वका बारेमा जानकारी नभएको उनले बताए ।

 

 

पुराना बालीमा पाइने पोषक तत्वका विषयमा ज्ञान नहुँदा पुराना बाली लोप हुन थालेको किसान मोहनबहादुर विष्टले बताए । पुराना बालीको संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेको उनले बताए । धानबालीसँगै फल्ने कोदो मादुरो आजभोलि देख्नसमेत नपाइने गरेको किसानको भनाइ छ । -रासस

कमेन्ट गर्नुहोस्