कृषिमा आत्मनिर्भर हुने सरकारको लक्ष्य : कृषिमन्त्री

चितवन, असाेज २७ । कृषि तथा पशु पन्क्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रको बिकास मन्त्रालयको प्राथमिकतामा रहेको र यसको आधुनिकीकरण मार्फत कृषिमा आत्मनिर्भर हुने सरकारको लक्ष्य रहेको बताएका छन् ।

भरतपुर ६ केसरबागमा शनिबार आयोजित अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लि.को ३५औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाली किसानहरूले परम्परागत कृषि प्रणालीलाइ छोडी ब्यावसायिक र गुणस्तरीय उत्पादनमा लाग्न आग्रह गर्दै उनले त्यसका लागि सरकारले आवश्यक ब्यवस्था गर्ने बताए । चितवनबाट केही हदसम्म ब्यावसायिक कृषि उत्पादनको थालनी भएकोमा जोड दिँदै उन अब ब्यावसायिकतासंगै गुणस्तरमा समेत लाग्न आग्रह गरे।

फलफूल, तरकारी, खाद्यान्न, मासु लगायतमा आत्मनिर्भर हुनै पर्नेमा जोड दिँदै उनले अब यसरी देश अगाडि बढ्न नसक्ने बताए । मन्त्री खनालले सहकारी, सरकार र निजी क्षेत्रको समन्वय र लगानीमा बृहद उत्पादन अभियान संचालन गर्नुपर्ने बताए । प्रविधिमा आधारित कृषि कर्मले मात्र राष्ट्रले लिएको लक्ष्य हासिल गर्न सकिने मन्त्री खनालको धारणा थियो । अब युवा शक्तिलाई बिदेश होइन, स्वदेशमा कृषि कर्ममा लगाउने सरकाले नीति बनाइरहेको उनले बताए ।

कार्यक्रमकी बिशिष्ट अतिथि भरतपुर महानगर प्रमुख रेणु दाहालले कृषि क्षेत्रको ब्यावसायिक बिकास मार्फत समृद्धि हासिल गर्न सकिने बताउँदै यो दिशामा अगाडि बढ्न किसानहरूलाई आग्रह गरे । परम्परागत कृषि प्रणाली नेपाली किसानहरूको प्रमुख समस्याको रूपमा रहेको बताउदै प्रमुख दाहालले यसलाई तोड्न सक्दा मात्र यसबाट आशातित आम्दानी लिन सकिने बताए । अबको आवश्यकता गुणस्तर बृद्धि र उत्पादन बृद्धिलाई बिशेष जोड दिन आवश्यक रहेको उनले बताए ।

भरतपुर महानगरपालिका तरकारी, खाद्यान्न, मासु र दूध उत्पादनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना भएको क्षेत्र भएको बताउँदै उनले भरतपुर महानगरपालिकाले सोही बमोजिम नीति तथा कार्यक्रममा समेटी अगाडि बढिरहेकोमा जोड दिए । प्रमुख दाहालले भरतपुर महानगरपालिकाभित्रका दुग्ध उत्पादक किसानलाई प्रोत्साहनस्वरूप प्रतिलिटर २५ पैसा नगद अनुदानको ब्यवस्था गरिएकोमा जोड दिँदै आगामी वर्षहरूबाट यसलाई बढाउदै लैजाने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियारले ३५ औँ बार्षिक साधारण सभाको शुभकामना दिँदै किसानहरूलाई गुणस्तरीय उत्पादनमा लाग्न आग्रह गरे । कार्यक्रममा राष्ट्रिय दुग्ध बिकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्त, केन्द्रीय दुग्ध उत्पादक संघका अध्यक्ष नारायणप्रसाद देबकोटा, वडा नम्बर ६ का अध्यक्ष हरिबिलास कोइराला, दुग्ध उत्पादक ब्यावसायिक किसान महासंघका अध्यक्ष आनन्द न्यूरे, अगुवा किसानको तर्फबाट पूर्णप्रसाद प्रसाइ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

२०४२ सालमा स्थापना भएको यस सहकारी संस्थाले दैनिक करिब ४ हजार लिटर दूध संकलन गर्दै आइरहेको छ । सहकारीमार्फत नमुना गाई फार्म, दाना उत्पादनका साथै दुग्ध प्रशोधन र बजारीकरण समेत गरिरहेको छ । संस्थाको ३५औँ बार्षिक साधारण सभाको अवसरमा उत्कृष्ट दुग्ध उत्पादक किसान, घॉस उत्पादक किसान र गुणस्तरीय दूध उत्पादन गर्ने किसानहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष भागिरथ तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्