वृद्धाभत्ता पाँच हजार बनाएरै छाड्छौः नेता श्रेष्ठ

गोरखा, असोज २७ । नेपाल कम्युननिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले वर्तमान सरकार पार्टीको घोषणापत्रअनुसार काम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

 

शनिबार गोरखाको सिरानचोक गाउँपालिका-४ मा सिरानचोक गाउँपार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले निर्वाचनका बेला जनतासँग गरेका सवै प्रतिबद्धता पूरा गर्न सरकार लागिपरेको भन्दै अहिले नै सरकारको आलोचना गर्ने बेला नभएको बताए ।

 

‘सरकारसँग अहिले नै निरास हुनुपर्ने कुनै कारण छैन, हामीले गरेका सवै प्रतिबद्धता पुरा गर्छौ’, उनले भने, ‘हाम्रो पार्टीले घोषणपत्रमा वृद्धाभत्ता पाँच हजार बनाउने भनेकै हो, त्यो कुनै पनि हालतमा पाँच वर्षभित्रमा पाँच हजार बनाएरै छाड्छौ ।’

 

राजनीतिक परिवर्तनलाई संस्थागत गर्न वर्तमान सरकारले अहिले समाजिक न्यायसहितको समृद्धि मुलुक बनाउने कार्यभारलाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको बताउँदै नेता श्रेष्ठ अब विकास र समृद्धि कम्युननिष्ट पार्टीको मात्र नभई सवै पार्टीका साझा एजेण्डा बन्नुपर्नेमा जोड दिए ।

 

उनले भने, ‘नेपाल कम्युनिस्ट पार्टी, कांग्रेस वा अरु जुनसुकै पार्टी होस्, सबै पार्टीले सबैको निम्ति विकास हो भनेर सहकार्य गरेर अघि बढ्नुपर्छ ।’

 

रेल, सिँचाइ आयोजना, सडक, पर्यटनको विकास र उद्योगको विकास गरेर नेपाललाई नमुना र विकसित मुलुकको रुपमा परिणत गर्ने दिशातिर सरकारले गुणात्मक ढङ्गले काम गरिरहेको उनले बताए । -रासस

कमेन्ट गर्नुहोस्