तीन महिनादेखि ११ सय कर्मचारीले तलब पाएनन्

काठमाडौं, असोज २८ । संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका करिब ११ सय कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । उनीहरूले साउनदेखिको तलब नपाएका हुन् ।

संघीय सरकारले समयमै कार्यालय हस्तान्तरण गरेर कर्मचारी नखटाउँदा तलब र दसैंभत्ताका लागि रकम निकासा गर्न समस्या भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

अब आइतबार र सोमबार कर्मचारीले तलब र भत्ता नपाए दसैं खल्लो हुने आर्थिक मामिला मन्त्रालयका एक कर्मचारीले बताए । तर, प्रदेशका प्रमुखसचिव केदार न्यौपानेले भने सबै कर्मचारीलाई तलब र भत्ता दिएरै पठाउने दाबी गरे ।

न्यौपानेका अनुसार अन्यत्रबाट सरुवा भई प्रदेशमा हाजिर गरिरहेका सबै कर्मचारीलाई तलब र दसैंभत्ताको रकम भुक्तानी भइसकेको छ । तर, अन्य प्रदेशमा दरबन्दी भई प्रदेश १ मा खटाइएका कर्मचारीलाई भने तलब भुक्तानीमा समस्या भइरहेको उनले बताए ।

विभिन्न ११ कार्यालयका कर्मचारीले तलब नपाएका हुन् । सिँचाइ विकास डिभिजन, सहरी विकास तथा भवन निर्माण, प्रदेश संग्रहालय, भू-तथा जलाधार व्यवस्थापन, महिला तथा बालबालिका, शिक्षा विकास निर्देशनालय, डिभिजन वन, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, कृषिज्ञान केन्द्र र जिल्ला प्राविधिक कार्यालयका कर्मचारीले तलब नपाएका हुन् ।

दसैंमा पनि तलब र भत्ता नपाउने

स्रोतका अनुसार तलब निकासा गर्न सक्ने अवस्था नभएपछि आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रह्लादप्रसाद सापकोटा बिदा लिएर दसैं मनाउन हिँडिसकेका छन् ।

सो मन्त्रालयका एक कर्मचारीका अनुसार प्राविधिक जटिलताका कारण दसैंअगाडि नै तलब र भत्ता निकासी गर्न सकिने अवस्था छैन । उनले भने, ‘प्रदेश सरकारसँग रकम छैन र संघीय सरकारले अहिलेसम्म तलब पठाएको छैन, यसैले दसैँअघि भुक्तानी गर्ने अवस्था छैन ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्