दसैंपछि मात्रै नेकपाको तल्ला कमिटीको एकता

काठमाडौं, असोज २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय र स्थायी समिति बैठक पटक–पटक सरेपछि एकीकरणसम्बन्धी बाँकी काम दसैंपछि धकेलिएको छ ।

 

 

गत २४ असोजका लागि डाकिएको सचिवालय बैठक २७ गते बस्ने गरी स्थगित गरिएकोमा नेताहरूको व्यस्तता र गृहकार्य अभाव जनाउँदै ४ कात्तिकमा सारिएसँगै नेकपाको एकीकरणसम्बन्धी बाँकी काम दसैंपछि धकेलिएको हो । ‘नेताहरूको व्यस्तताले गर्दा बैठक पछि सारिएको हो,’ केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले भने, ‘आन्तरिक गृहकार्यपछि बैठक बस्छ ।’

 

 

गत २२ असोजमा बसेको सचिवालय बैठकमा स्थायी समिति बैठकका लागि महासचिव विष्णु पौडेलले एक दर्जन एजेन्डा प्रस्ताव गरेका थिए । तर, बैठकको अन्त्यतिर काठमाडौं–७ का नेकपाका सांसद रामवीर मानन्धरले नेता वामदेव गौतमलाई उपनिर्वाचनमा उम्मेदवार बनाउन राजीनामाका लागि स्वीकृति मागेको विषयले प्रवेश पाएपछि छलफलै नगरी बैठक स्थगित भएको थियो ।

 

 

सामाजिक सञ्जालमा गौतमको उम्मेदवारीप्रति नकारात्मक टिप्पणीसँगै सचिवालयका अधिकांश सदस्य विपक्षमा देखिएपछि सचिवालय बैठक चार दिन पछाडि धकेलिएको थियो । तर, यसबीचमा पनि बैठकका एजेन्डामाथि अध्यक्ष केपी ओली, प्रचण्ड र वरिष्ठ नेताहरूबीच छलफल नभएकाले बैठक दसैंपछि सारिएको एक नेताले बताए ।

 

 

सचिवालय बैठकको एक सातापछि १२ र १३ कात्तिकमा स्थायी समिति बैठक बोलाइएको छ । अन्तरिम विधानअनुसार तीन महिनाभित्र बस्नुपर्ने नेकपाको स्थायी समिति बैठक गत २१ असारयता बस्न सकेको छैन । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्