‘नेपाल आइडल २’ मा सुदुरपश्चिमबाट एक्लो प्रतिस्पर्धी रवि वडलार्इ धनगढीमा भव्य स्वागतको आयोजना !

काठमाडौं, असोज २८ ।

सुदूरपश्चिमबाट नेपाल आइडल सिजन–२ मा बाँकी रहेका एक्ला प्रतिस्पर्धी रवि वडलाई धनगढीमा भव्य स्वागत गरिने भएको छ ।

रवि वड जिताउ अभियानको आयोजनामा आइतबार दिउँसो ३ बजे धनगढी उप–महानगरपालिका नगर प्रमुख नृप वडको उपस्थितिमा रविलाई भव्य स्वागत गरिने भएको हो । उनको स्वागतका लागि धनगढीमा र्‍याली निकालिने सञ्चारकर्मी एवं रवि जिताउ अभियानका सदस्य निखिल आचार्यले जानकारी दिए । र्‍यालीमा सहभागी हुन रवि जिताउ अभियानले सबैलाई अनुरोध गरेको छ ।

अहिले रविको चर्चा सुदूरपश्चिममा मात्रै होइन, नेपालमा मात्र पनि होइन उनको चर्चा विदेशमा पनि शिखरमा छ । सुमधुर स्वरका धनी रविले नेपाल आइडलमा आफ्नो जादूमय आवाजले सबैको ध्यान तानेका छन् । र, उनको यात्रा निरन्तर बढिरहेको छ ।

रवि आइडलको टप ९ मा पुग्न सफल भएका छन् । बिहीबार उनले टप ९ मा पुग्नका लागि भोटको अपिल गरेका थिए । शुक्रबार सार्वजनिक नतिजाअनुसार रविको यात्रा अगाडि बढेको छ । अर्थात्, उनी उत्कृष्ट ९ प्रतिस्पर्धीभित्र स्थान बनाउन सफल भएका छन् ।

रविको चर्चा दिनहुँ चुलिदो छ । विशेष गरी उनका समर्थक सुदूरपश्चिमका बढी छन् । हुनत उनी नै सुदूरपश्चिमको हुन् त्यसकारण पनि रविको चर्चा सुदूरपश्चिममा व्यापक छ । तिनै चर्चाको शिखरमा पुग्न सफल रवि वड आज सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढी पुगेका छन् । उनले यहाँ आफ्ना समर्थक तथा आफन्तलाई भेट्ने बताइएको छ ।

आइडलको पहिलो चरणदेखि नै दमदार प्रस्तुति दिदैं आएका रविले अब गृह क्षेत्रमा भोटका लागि अपिल पनि गर्ने छन् । आगामी यात्रा सुनिश्चित गर्न धनगढीलगायत त्यहाँका विभिन्न शहरमा रवि समर्थकसँग भेटघाट गर्ने बताइएको छ । उनी सुदूरपश्चिममा झण्डै हप्तादिन बस्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्