यस्तो छ तयारी राउटेहरुको दशैंका लागि !

सुर्खेत, असोज २८ ।

नेपालीको महान् चाड दशैंको स्वागतका लागि गाउँ–शहरमा मात्र होइन, जङ्गलका राउटे समुदायसमेत भव्य तयारीमा जुटेका छन् ।

राउटे तीन दिनअघि दैलेखबाट सुर्खेतको लेकबेसी नगरपालिका–९ ज्यामिरे जङ्गलमा सरेका हुन् । यसअघि उनीहरु दैलेखको गुराँस गाउँपालिका–७ मा बसोबास गरेका थिए । लेकमा चिसो बढ्न थालेपछि बेँसी झरेको राउटेको भनाइ छ ।

महामुखिया महिनबहादुर शाहीले बस्ती सरेपछि किनमेल गर्न सजिलो भएको बताए । ‘दशैं आइसक्यो, खसीबोका र चामल किन्न सजिलो होला भनेर यहाँ सरेका हौँ’ स्थानीय गङ्गटे बजारमा भेटिएका उनले भने, ‘चिसो बढ्यो, दशैं पनि आयो, दशैं मनाएर अन्तै सर्नुपर्ला ।’ ज्यामिरे जङ्गलमा काठ अभाव रहेकाले धेरै बसाई नहुने उनको भनाइ छ ।

फिरन्ते जीवन बिताउने यो समुदायका ४२ घरधुरीमा गरी १ सय ४८ जना छन् । दैलेखको गुराँस गाउँपालिकाले बस्तीमै पुगेर राउटे समुदायलाई असोज महिनाको भत्ता वितरण ग¥यो । सरकारले अति लोपोन्मुख यस समुदायका लागि प्रतिव्यक्ति मासिक दुई हजार रुपैयाँ प्रदान गर्दै आएको छ । राउटेले उक्त रकम दशैँका लागि खर्च गर्ने बताए । ‘भत्ताको पर्खाइमा थियौँ, सरकारले समयमै दियो’ भत्ता बुझेपछि प्रफुल्लित देखिएका एक राउटे युवाले भने ।

दशैँ नजिकिँदै गर्दा चामल, खसीबोका, नुन–तेललगायत आवश्यक सरसामानको जोहो गर्न थालेका छन् । किनमेलका लागि स्थानीय गङ्गटे बजार, वीरेन्द्रनगरसम्म पुग्ने उनीहरुको योजना छ । समुदायका चार युवा भने दशैँ खर्च जुटाउन काठमाडौँ पुगेका छन् । उनीहरु अझै बस्ती फर्केका छैनन् । राउटे घटस्थापनाका दिन बस्ती सर्नुपरेकाले जमरा राख्न पाएनन् ।

राउटे अगुवाका अनुसार दशैंका दिन मुखियाका हातबाट चामलको सेतो टीका थाप्ने, नाचगान गर्ने, खसीबोका काट्ने गर्दछन् । यो दशैंलाई ‘असोजे दशैं’ भन्छन् । यसका लागि राउटेले अगाडि नै खसी, बोका जम्मा गरी राख्छन् । यदि खसी नपाए बूढो बाख्री नै भए पनि खोजेर ल्याउँछन् । दशैँका दिन सबैले आफ्नै छाप्रोमा बनाएको जाँड खान्छन् ।

दशैँको मुख्य दिनमा बिहानको खानपिन गरेर दिउँसो राउटेले आफ्नो परम्परागत लुगा लगाएर नाचगान गर्छन् । मुजा परेको सेतो जामा, शिरमा सेतो पगरी, खुट्टामा फलामको कल्लीजस्तो बज्ने गहना लगाएर मादल बजाई लहरै घुमी नाच्छन् । पुरुषले मात्र नाच्छन् । महिलाहरु कहिल्यै नाच्दैनन् ।

देवीदेवताको पूजा गर्ने, चाडपर्व मनाउनेलगायतका हिन्दु संंस्कारप्रति राउटे पनि विश्वास गर्छन् । यद्यपी, उनीहरुको मृत्यु संस्कार भने फरक शैलीको छ । आफ्ना सदस्यको मृत्युमा जलाएर अन्त्यष्टि, काजकिरिया, जुठो बार्ने गर्दैनन् । जहाँ म¥यो त्यही गाडेर बस्ती सर्छन् ।

मुखिया सूर्यनारायण शाहीले ईश्वरबाटै श्रृष्टि चलिरहेकाले पनि चाडपर्वप्रति विश्वास रहेको बताए । ‘शिकार परेन भने देउता रिसाएको बुझ्छौँ, उनले भने, ‘त्यही भएर शिकारका देवता भुयाँ र दारेमष्टोको पूजा गर्छाैं ।’ लोकपाटीबाट

कमेन्ट गर्नुहोस्