५९ दरबन्दीमा ९ कर्मचारीमात्र : समयमा काम नहुँदा सेवाग्राही पटकपटक धाउनुपर्ने समस्या

इलाम, असोज २८ ।

माई नगरपालिकामा कर्मचारी अभाव भएपछि सेवाग्राही मर्कामा पर्न थालेका छन् । नगरमा दरबन्दीको एक तिहाइ कर्मचारी मात्र कार्यरत रहँदा कार्यालय समयमा काम नहुने, पटक–पटक नगरपालिका धाउनुपर्ने समस्या पर्ने गरेको छ ।

कर्मचारी अभावपछि पशु प्राविधिकले समेत वडा सचिवको कार्यभार सम्हाल्दै छन् । नगर प्रमुख दीपककुमार थेवेका अनुसार नगरमा तीन वटा वडामा सब ओभरसियरले काम गरेका छन् । नगरका अरू वडामा समेत वडा सचिव नहुँदा कतै एउटै कर्मचारीले धेरैतिर सम्हाल्नुपर्ने छ भने कतै महिला विकासका कर्मचारीले वडा सचिवको काम गर्नुपर्ने स्थिति छ ।

“कर्मचारी एकदमै अभाव भएपछि एउटै कर्मचारीले तीनतिर काम गर्दै अाएका छन् । नगरको वडा नं ९, १० र नगरपालिकामा समेत एकैजना कर्मचारीले काम गर्नुपर्ने अवस्था छ”, नगर उपप्रमुख विष्णुमाया रिमालले भने, “नगरपालिकासित कर्मचारी राख्ने स्थानीय स्रोत पनि छैन । धेरैतिर कर्मचारी माग पनि गर्यौँ तर कतैबाट पहल भएन ।” रिमालका अनुसार कार्यालयमा दरबन्दीभन्दा एक चौथाइ कम मात्र स्थायी दरबन्दीका कर्मचारी मात्र नगरमा छन् ।

नगरपालिकामै पनि ५९ को दरबन्दीमा नौ मात्र स्थायी दरबन्दीका कर्मचारी कार्यरत छन् । रिजालका अनुसार कार्यालयमा प्रशासनमा एक, महिला चार र लेखा कार्यालयमा दुई कर्मचारी छन् । नगरपालिकामा दुई अधिकृत नहुँदा कामकाज प्रभावित भएको छ ।

नगर प्रमुख थेवेका अनुसार प्रमुख प्रशासकीय अधिकृतसमेत नहुँदा लेखा अधिकृतले नै प्रमुख प्रशासकीय कर्मचारीको कार्यभार सम्हाल्नु परेको छ । थेवेले नगरपालिकाको आर्थिक, प्रशासनिक कार्य, योजना सञ्चालन र सेवाप्रवाहमा समेत समस्या भएको छ भने ।

“हामीले केही समयअघि मात्र ११ कार्यालय सहयोगी नियुक्ति गरेका छौँ,” उहाँले भन्नुभयो, “त्योभन्दा बढी चाहिँ कर्मचारी थप्ने स्रोत छैन ।” रासस

कमेन्ट गर्नुहोस्