नेता नेपालले भने,- ‘प्रधानमन्त्री ज्यू, गल्ती गर्नेलाई डण्डा लगाएर तह लगाउनुस्’

काभ्रे, असोज २८ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा गल्ती गर्ने जोसुकैलाई कारवाही गर्न आग्रह गरेका छन् ।

 

 

काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिकाले सञ्चालन गर्न लागेको नगरबस उद्घाटन सभालाई आज कुन्ताबेँसीमा सम्बोधन गर्दै नेता नेपालले भने, ‘सरकारसँग स्वदेश र विदेशमा बस्ने नेपालीले वर्तमान सरकारले राम्रो गर्छ भन्ने अपेक्षा गरेका छन्, त्यसैले गल्ती गर्ने कसैलाई नछोड्नुस् प्रधानमन्त्री ज्यू, डण्डा लगाएर तह लगाउनुस् ।’

 

 

नेता नेपालले प्रदेश नं ३ को राजधानी कहाँ राख्ने भन्ने विषयमा सबै पक्ष छलफलमा जुट्नुपर्ने बताए । उनले भने, ‘काभे्रपलाञ्चोक नै राजधानी राख्ने विषयमा तर्क पुष्टि गर्नुहोस् ।’

 

 

नेता नेपालले काभे्रपलाञ्चोकको बनेपास्थित नागीडाँडामा आन्तरिक विमानस्थल बनाउने विषयमा आफूले पनि गम्भीररुपमा पहल गर्ने बताए ।

 

 

उनले पाँचखाल नगर चीनसँगको व्यापारका लागि उपयुक्त भएकाले काभे्रपलाञ्चोकको महत्व निकै रहेको बताए । नेता नेपालले स्थानीय जनप्रतिनिधिले स्थानीय तहमा सुशासन सिकाइ जनताको आँखाको नानी बन्नुपर्छ बताए । -रासस

कमेन्ट गर्नुहोस्