सेती अञ्चल अस्पतालमा २८५ प्रकारका औषधि अभाव

कैलाली, असोज २९ । दैनिक सयौं बिरामी उपचारका लागि भर्ना हुने सेती अञ्चल अस्पतालको फार्मेसीमा औषधिको अभाव भएको छ ।

 

 

सरकारी अस्पतालको फार्मेसीमा औषधि नभएपछि सर्वसाधारण निजी मेडिकलबाट महँगोमा औषधि किन्न बाध्य छन् । औषधि अभावले सरकारी फार्मेसी सुनसान देखिन्छ । तर, अञ्चल अस्पताल नजिकका मेडिकलमा भने औषधि किन्ने सर्वसाधारणको भिड लाग्ने गरेको छ ।

 

 

सरकारी फार्मेसीमा पुग्ने ग्राहकलाई त्यहाँका कर्मचारीले निजी मेडिकलमा पठाउने गरेका छन् । औषधि खरिद हुन नसक्दा चालू आर्थिक वर्ष सुरु भएदेखि नै अञ्चल अस्पतालमा औषधिको अभाव भएको हो । निमोनियाले ग्रस्त आफ्ना छोराको उपचार गराइरहेका पुनर्वासका महेशचन्द्र अधिकारीले सिरिन्ज पनि फार्मेसीमा नपाएको बताए ।

 

 

‘डाक्टरले औषधि लेख्दा हरेकपटक निजी फार्मेसीमा जाने गरेको छु,’ अधिकारीले भने, ‘तर सरकारी फार्मेसीका कर्मचारी औषधि छैन । बाहिरको मेडिकलमा किन्नूस् भनेर फर्काउँछन् ।’ सिरिन्जसहित ७ प्रकारका औषधि आफूले निजी मेडिकलबाट किनेको उनले बताए ।

 

 

टाउको र पेटमा समस्या देखिएपछि अञ्चल अस्पताल भर्ना भएका धनगढी–१, शिवनगरका नन्दराज जोशीले पनि डाक्टरले लेखेको कुनै पनि औषधि अञ्चल अस्पतालको फार्मेसीमा पाएनन् । चेकजाँचपछि डाक्टरले लेखिदिएका ५ प्रकारका औषधिमध्ये फार्मेसीमा एउटा पनि नपाएको उनले बताए ।

 

 

‘फार्मेसीमा सस्तोमा औषधि पाइन्छ भन्ने सुनेको थिएँ । तर, त्यहाँ औषधि नै रहेनछ,’ अञ्चल अस्पताल गेटनजिकको निजी मेडिकलमा औषधि किन्दै गरेका जोशीले भने, ‘औषधि छैन भनेर फर्काएपछि औषधि नहुने फार्मेसी किन चलाउनू, बन्द गर्नोस् भनेर आएँ ।’

 

 

सर्वसाधारणलाई गुणस्तरीय र सस्तोमा औषधि उपलब्ध गराउने उद्देश्यले गत वैशाखदेखि फार्मेसी सञ्चालनमा ल्याइएको हो । औषधि हुँदा निजी मेडिकलमा भन्दा कतिपय औषधि फार्मेसीमा आधा मूल्यमा पाइन्छ । तर, विगत केही महिनादेखि फार्मेसीमा औषधि नभएपछि सर्वसाधारण बाहिरबाट महँगोमा औषधि किन्न बाध्य छन् ।

 

 

२८५ प्रकारका औषधि अभाव
अञ्चल अस्पतालको फार्मेसीले उपलब्ध गराउँदै आएको ४ सय ८५ प्रकारका औषधिमध्ये २ सय ८५ प्रकारका औषधि अहिले फार्मेसीमा छैनन् । फार्मेसी इन्चार्ज भरत कुँवरले यो आर्थिक वर्ष सुरु भएदेखि नै औषधिको अभाव हुँदै आएको बताए । ‘साउनयता फार्मेसीमा औषधिको चरम अभाव छ,’ उनले भने, ‘फार्मेसीमा भएका दुई सय प्रकारका औषधि पनि पर्याप्त छैनन् ।’

 

 

औषधि अभाव हुँदा बिरामीलाई मागको करिब ५ प्रतिशत मात्र औषधि दिने गरेको कुँवरको भनाइ छ । ‘औषधि किन्न आउने दैनिक दुई सयजति ग्राहकलाई औषधि छैन भनेर फर्काउने गरेका छौँ,’ उनले भने । नियमित आपूर्ति हुँदा मागको ८० प्रतिशतसम्म औषधि फार्मेसीले धान्ने गरेको थियो ।

 

 

फार्मेसीमा सबैजसो औषधि मेडिकलभन्दा सस्तोमा पाइने र कतिपय औषधि बाहिरको भन्दा आधा मूल्यमै पाइन्छ । सेती अञ्चल अस्पतालमा दैनिक ३–४ सय बिरामीले उपचारका लागि जाने गरेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्