कर्मचारीको प्रश्नः तलब पाइएन, घर कसरी  जाने ?

पर्वत, असोज २९ । गाउँघर र सहरबजार सबैतिर दसैंको रौनक छ  । यहाँका केही कार्यालयमा कार्यरत कर्मचारीमा भने दसैं मनाउने खर्च अभावले चिन्ता बढेको छ  ।

 

 

संघीय सरकार माताहतबाट प्रदेश सरकार अन्तर्गत स्थापना भएका कार्यालयमा कार्यरत कर्मचारीले साउनयता तलब पाएका छैनन् ।

 

 

प्रदेश मातहत सरेका कृषि ज्ञान केन्द्र, वन डिभिजन, जलस्रोत तथा सिँचाइ विकास, पशु अस्पताललगायतका कर्मचारीले तलब नपाएको बताए ।

 

 

तिनै कार्यालयमा कार्यरतमध्ये केहीको तलब आएको छ । प्रदेश सरकारले दरबन्दी कायम भएअनुसार कर्मचारीको दरबन्दी कायम गरी अख्तियारी नदिएका कारण दसैंमा पनि तलब नपाइएको कर्मचारी सुनाउँछन् ।

 

 

प्रदेश सरकारको आवश्यकताअनुसार स्थापना हुने भन्दै गत असारदेखि कृषि, वन, पशु, सिचाइ, खानेपानी, भू–संरक्षण, महिला तथा बालबालिका, शिक्षालगायत कार्यालय खारेज भएका थिए ।

 

 

तीमध्ये कृषि ज्ञानकेन्द्र, जलस्रोत तथा सिंचाइ, वन डिभिजन, भू तथा जलाधार कार्यालय प्रदेश सरकारअन्तर्गत रहने गरी स्थापना भएका हुन् । साउनमै स्थापना भएका यी कार्यालयका कर्मचारीले भने तीन महिनाअघिदेखि तलब पाएकै छैनन् ।

 

 

वन डिभिजनकी सूचना अधिकारी माधुरी खड्काका अनुसार तीन साताअघि प्रदेश मन्त्रालयले माग गरेबमोजिम कर्मचारी विवरण पठाइए पनि त्यसबारे कुनै सुनुवाइ भएको छैन ।

 

 

‘तलबभत्ता, कार्यक्रमलगायत अख्तियारीका लागि विवरण माग भएको थियो,’ हामीले सोहीअनुसार विवरण पठायौं । रेस्पोन्स आएकै छैन ।’ साउनयताको तलब नआउँदा वन डिभिजनमा कार्यरत १२ र जिल्लाभरका सबडिभिजन कार्यालयका कुनै पनि कर्मचारीको तलब खान नपाएको उनले बताइन् ।

 

 

सोमबारदेखि दसैं बिदा हुने भए पनि साउनयता तलब नपाएका कारण घर जाने स्थिति नभएको सिंचाइका प्राविधिक डिल्लीबहादुर ओलीले जनाए । कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्