दश रुपैयाँ दिएर बालिका बलात्कार गर्ने सार्वजनिक

धनुषा, असोज २९ । जिल्लाको औरही गाउँपालिका–२ देउरी परवाहका रामआशिष यादवकी १० वर्षीया छोरी मनिता आफ्नै उमेरकी अमृता मण्डलसँग शुक्रबार साँझ ७ बजे दुर्गा मेला हेर्न गएकी थिइन् ।

 

 

मेलामा नथुनी पण्डित र विनोद मुखियाले चाउमिन पसल खोलेका थिए । उनीहरूले रक्सी खाएका थिए । उनीहरूले मेलामा पानीपुरी खाइरहेका मनिता र अमृतालाई देखे ।

 

 

मनितालाई नथुनीले पहिलादेखि नै चिनेका थिए । दुवैको घर नजिकै रहेकाले मनिताले अंकल साइनो लगाउँथिन् । नथुनीले मनितालाई ‘के खन्छौ नानी खाऊ, म पैसा दिन्छु’ भन्दै १० रुपैयाँ दिए । चकलेट पनि खुवाए । अमृता भने ‘म घर जान्छु’ भनेर हिँडिन् ।

 

 

नथुनीले मनितालाई अरू पनि सामान किनिदिने लोभ देखाए । उनीहरूले मनितालाई मेलाभन्दा करिब एक किलोमिटर पर खैरावनमा लगेर बलात्कार गरे । पीडा सहन नसकेर कराएकी उनको मुख थुनेर बलात्कार गरे । उनी बेहोस भइन् । बलात्कारको घटना सार्वजनिक हुने डरले उनीहरूले मनिताको हत्या गरेर धानखेतमा फाले ।

 

 

हत्या गरेको आरोपमा प्रहरीले दुवैलाई पक्राउ गरेको छ । पक्राउ परेका औरही गाँउपालिका–२ का ३० वर्षीय नथुनी र वडा नं. ५ का ३२ वर्षीय विनोदलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

 

 

उनीहरूले रामअशिष यादवकी १० वर्षीया छोरी मनिताको शुक्रबार राति बलात्कार गरी हत्या गरेको प्रहरीको भनाइ छ । नथुनी र विनोदले मनितालाई चकलेट र १० रुपैयाँको प्रलोभन देखाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

 

 

साँझ ७ बजे घरबाट निस्केकी मनिता ९ बजेसम्म नफर्किएपछि परिवारले खोजी गरेको थियो । उनी फेला नपरेपछि परिवारले शनिबार बिहान इलाका प्रहरी कार्यालय औरहीमा खबर गरेको थियो । प्रहरीलाई खबर गरेको केही घन्टामै स्थानीयले घरनजिकै धानखेतमा उनको नांगो शव भेटेका थिए ।

 

 

हत्यापछि दुवै आ–आफ्नो घर गएर सुतेका थिए । तर, विनोद भोलिपल्ट भागेर जनकपुर आए । यता नथुनी पक्राउ परिसकेका थिए । तर, उनको संलग्नता खुलेको थिएन । विनोद पनि जनकपुरबाट पक्राउ परेपछि उनीहरूको संलग्नता खुलेको प्रहरीले जनाएको छ । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्