निगमद्वारा पूर्वतयारी नहुँदा अाइतबारदेखि पेट्रोल पम्पअगाडि ह्वात्तै बढ्यो सवारीसाधनको लाइन

काठमाडौं, असोज २९ ।

दसैँको मुखमा माग बढ्छ भन्ने जान्दाजान्दै पनि निगमले शुक्रबार नियमित मात्र तेल दियो, शनिबार डिपो बन्द गर्‍यो ।

दशै‌ंको मुखमा यातायात साधनको आवतजावत र तेलको माग बढ्ने जान्दाजान्दै पनि आयल निगमले पूर्वतयारी नगर्दा पेट्रोल पम्पमा ह्वात्तै लाइन बढेको छ । तेलको माग बढेकै वेला शुक्रबार नियमित मात्र तेल वितरण गरेको आयल निगमले शनिबार डिपो बन्द गरेको थियो । त्यसैले आइतबार बिहानैदेखि पेट्रोल पम्पमा लाइन असामान्य बनेको छ ।

शुक्रबार आधा दिन मात्रै काम गर्ने निगमको डिपोका कर्मचारीले हतारहतार ५ लाख लिटर पेट्रोलियम वितरण गरेर घर गएका थिए । निगमको थानकोट डिपो आइतबार १० बजे खुलेपछि मात्र तेल लोडिङ सुरु भएको थियो । तर, पेट्रोल पम्पमा बिहानैदेखि भिड थियो ।

आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले माग दोब्बर भन्दा बढी भएकाले सवारी साधनको लाइन बाक्लिएको बताए । ‘सामान्य अवस्थामा उपत्यकामा पेट्रोल ५ लाख लिटर आपूर्ति गर्दा पुग्छ’ उनले भने, ‘आइतबार बिहानदेखि पम्पमा चाप बढेको देखेर साँझसम्म ११ लाख लिटर बितरण भएको छ ।’ उपत्यकाबाट दशैं बिदामा बाहिरिनेले सवारी साधनमा पर्याप्त इन्धन भर्ने हुँदा दोब्बर बढी आपूर्ती गर्दा पनि लाइन लागेको उनको भनाई छ ।

‘पम्प संचालकलाई हामीले सवारी धनीले कति मात्रामा तेल हालिरहेका छन् भनेर सोध्दा प्राय सबै सवारी साधन फुल ट्यांकी गर्ने गरेको रिपोर्ट आएको छ’ गोइतले भने । ट्राफिक प्रहरीका अनुसार अहिले दैनिक १८ हजारको संख्यामा साना ठूला सवारी साधन काठमाडौंबाट बाहिरिएका छन् ।

यी सवारी साधनले दशैंका लागि घर फर्किने मात्र २० लाख यात्रु बाहिर लगिसकेका छन् । थप ३ लाख बाहिरिने अनुमान छ ।

सरकारी पम्पमा उपभोक्ता झुम्मिए

उपभोक्ताले निजीको तुलनामा सरकारी पम्पलाई विश्वास गर्दै आएका छन् । त्यसैले धेरै तेल हाल्नुपर्‍यो सेना, शशस्त्र, प्रहरी र साझा सहकारीबाट संचालित पम्पमा जान्छन् । उपत्यकाबाट बाहिरिने अधिकांश सवारी साधन सरकारी पम्पमै झुम्मिएको निगमको दाबी छ । ‘सहरमा यति धेरै पम्प छ तर उपभोक्ताहरू केही पम्पमा मात्र लाइन बस्दा चाहेको समयमै पाउन मुस्किल भइरहेको हो’ प्रवक्ता गोइतले भने । काठमाडौं उपत्यकामा १ सय २१ भन्दा बढी पम्प छन् ।

दशैंको ५ दिन डिपो बन्द, तर पेट्रोल पम्प खुला

आयल निगमले दशैं बिदाको ५ दिन तेल वितरण नगर्ने जनाएको छ । प्रवक्ता वीरेन्द्र गोइतले ३० असोज (फूलपाती) सम्म वितरण गरेर सबै डिपो बन्द रहने बताए । त्यसपछि ४ कात्तिक आइतबार डिपो खुल्नेछन्  । ‘हामी डिपो बन्द गर्नुअघि सबै पम्पलाई पर्याप्त तेल दिन्छौँ,’ उनले भने, ‘त्यहाँबाट आपूर्ति गर्न समस्या हुँदैन  ।’ विगतका दशैंमा पनि निगमले डिपो केही दिनलाई बन्द गर्दै आएको थियो ।

तेलको भाउ अझै बढाउने तयारी, तर मन्त्री यादव भन्छन्, ‘दसैँसम्म भाउ बढ्न दिन्नँ’

वर्तमान सरकार गठन भएको पछिल्लो आठ महिनामा इन्धनको मूल्य एकपटक मात्र घट्दा नौपटक वृद्धि भएको छ । भाउ फेरि पनि बढाउने आयल निगमको तयारी छ । तर, दसैँको मुखमा भाउ बढाउँदा अलोकप्रिय भइने डरले सरकारले धैर्य गरिरहेको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दसैँसम्म इन्धनको भाउ बढ्न नदिने बताएका छन् । यो सरकार आएपछि पेट्रोल प्रतिलिटर ११ रुपैयाँ, डिजेल र मट्टीतेल १८–१८, आन्तरिक हवाई इन्धन ५ रुपैयाँ र बाह्य हवाई इन्धन ७५ डलरले वृद्धि भएको छ ।

एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढेको छ । ‘सरकार गठन भएयता कच्चा तेलको भाउमा २४ प्रतिशतले वृद्धि भएको छ र नेपाली बजारमा केवल ९ प्रतिशतले मात्र भाउ बढेको छ,’ उनले भने, ‘त्यसैले नेपाली बजारमा धेरै भाउ बढ्यो भन्न मिल्दैन । मैले दशैंसम्म इन्धनको भाउ नबढाउने सोच बनाएको छु ।’ हाल पेट्रोल प्रतिलिटर ११४, डिजेल र मट्टीतेल १०१, आन्तरिक हवाई इन्धन सय रुपैयाँ, बाह्य हवाई इन्धन प्रतिकिलोलिटर १०७५ डलर र ग्यास प्रतिसिललिन्डर १४ सय रुपैयाँ छ । नयाँपत्रिकाबाट

कमेन्ट गर्नुहोस्