होशियार ! सामान्य रुघाखोकीले फोक्सो ड्यामेज हुनसक्छ !

कुनै रोग बाह्रै महिना लाग्ने हुन्छ त कुनै सिजनल (मौसमी) हुन्छ । कतिपय रोग मौसम परिवर्तनको समय (जस्तो जाडोबाट गर्मी र गर्मीबाट जाडो) मा देखा पर्छन् । बाह्रै महिना लाग्ने रोग चाहिँ अर्कैथरि हुन्छन् ।

अहिले गर्मीको समय सुरु भएको छ । नाक, कान र घाँटीको कुरा गर्दा यो समयमा कान पाक्ने समस्या बढ्दै जान्छ । बाह्रै महिना लाग्ने रोगलाई मौसमले केही असर गर्दैन । कानमा ढुसी पलाउने, कान पाक्ने, इन्फेक्सन हुने, कान चिलाउने र अझ पहिले कान पाक्ने रोग छ भने यो समयमा त्यस्तो रोग बल्झिन सक्छ ।

अहिले काठमाडौंमा देखिएको प्रदूषण रोग बढाउन निकै सहयोगी देखिएको छ ।

प्रदूषण २ प्रकारको हुन्छः मानवजन्य र प्राकृतिक प्रदूषण ।

काठमाडौंको साँगुरो परिवेशमा ४०–५० लाखको हाराहारीमा मानिसहरू बसोबास गर्छन् । जनघनत्व घट्ने छाँट छैन । राति पूरै बजार र रोड खाली हुन्छ । विदेशमा भने राति व्यापार र दिनमा अफिस चल्छ । हामीकहाँ चाहिँ बिहान ८ बजेसम्म पूरै रोड खाली रहन्छ भने ८ देखि साँझ ६ बजेसम्म अफिस, फिल्म र बजार आदि सबै गतिविधि चल्ने गर्छन् । व्यापार, अफिस र विद्यालयदेखि सबै काम एकै समयमा हुन्छ । यसले घुँइचो धेरै हुन्छ । बाटो भत्किरहेका छन् ।

महिनौंसम्म केही नगर्ने हुँदा नाक, कान र घाँटीमा धेरै समस्या देखापर्छ । नेपालीहरू विदेश जाँदा देख्छन्, त्यहाँ रातारात भवन बन्छ तर यहाँ वर्षौंदेखि नाली र बाटो भत्केको अवस्था छ, तर त्यो बन्दैन । त्यसका लागि राज्यले केही व्यवस्था गर्नु जरुरी छ । राज्यले प्रदूषण नहुने व्यवस्था गर्नु जरुरी छ तर यसमा सबै जिम्मेवार हुनुपर्छ, जुन परिवर्तन गर्न सम्भव छ ।

कान पनि कोट्याउने र छिनछिनमा सफा गर्ने गर्नु हुँदैन । बच्चाको कानमा तेल हाल्न हुँदैन । धुलो धुँवाबाट जोगिनु आवश्यक छ । कसैको कानमा फोहोर जमेर बसेको छ भने जाँचेर र हेरेर आवश्यक छ भने मात्र फोहोर पगाल्ने औषधि हाल्नु पर्छ । त्यसको प्रयोग गरेपछि सफा गर्न सजिलो हुन्छ । दैनिक, नियमित रूपमा कान कोट्याउने र सफा गर्ने गर्नु हुँदैन ।

नाक, कान र घाँटीमा देखिने समस्याका कारणहरू

तापक्रम परिवर्तन हुनेबित्तिकै कीटाणुहरू बढी सक्रिय हुन्छन् । त्यसले समस्या ल्याउँछ । धुलो, धुँवा, हावा र दूषित वायुको प्रभाव बढ्नाले वायुमण्डलका कीटाणु हाम्रो शरीरमा प्रवेश गर्ने सम्भावना बढी रहन्छ । यसले पनि समस्या हुन्छ । मानिसको गलत बानीबेहोरा, गलत आचरण, धेरै धुलोमा हिँड्ने र फोहोर पानीको प्रयोग गर्ने गर्दा संक्रमणजन्य रोगहरू बढ्छन् । एलर्जी पनि कुनै गर्मी र कुनै जाडो अथवा संक्रमणकालमा बढी हुने हुन्छ ।

असर र रोगहरू

नाक, कान र घाँटी संक्रमण हुनु पहिलो भाइरस इन्फेक्सन हो । भाइरस कीटाणु वायुमण्डलमा रहिरहेका हुन्छन् । यस्तो बेलामा तिनीहरू बढी सक्रिय हुन्छन् र तिनले शरीरमा आक्रमण गर्छन् । भाइरस कीटाणु आफैमा खतरनाक होइनन्, ती कीटाणु आफै निको हुने हुन् । आफै शरीरभित्र प्रवेश गर्छन् । उनीहरूबाट हुने संक्रमण चाहिँ केही समयपछि आफै सञ्चो हुन्छ । यदि मानिसभित्र रोगसँग डाइटको फ्याक्टरले अथवा अरू केही कारणले रोगविरुद्ध लड्ने अन्तर्निहित क्षमता कम भयो भने कीटाणुहरू शरीरमा प्रवेश गरी शरीरको इम्युनिटी क्षमता घटाउँछन् र अरू रोग लाग्न सक्छ ।
सामान्य रुघाखोकीले पनि धेरै सताउँछ । रुघाखोकी भनेको उपचार गराउँदा एक हप्ता, नगराउँदा साता दिन भनिन्छ । यसको खास उपचार हुँदैन । तर त्यही भाइरसको संक्रमणले गर्दा धुलो, धुँवाको समयमा लापरवाहीले बसियो, प्रशस्त मात्रामा झोल कुरा खान सकिएन, मानिसमा रोगसँग लड्ने क्षमता कमी छ, एचआईभी एड्स छ, बच्चा, वृद्ध छन् भने त्यस्ता मानिसलाई सामान्य रुघाखोकी लागेर पनि खतरनाक हुन्छ ।

साइनेञ्जाइटिस अनुहारभित्र रहेको हड्डीभित्र खाली ठाउँहरू हुन्छन् । त्यहाँ हावा भरिने ठाउँमा पानी, पल्स जम्मा भएर बस्छ । त्यसले गर्दा मानिसलाई ब्रेनमा असर गर्नुका साथै त्यसले पछि निमोनिया हुने डर हुन्छ । रुघाखोकी पटक–पटक लागिरह्यो, नाकको संक्रमण बढ्यो भने पनि समस्या हुन्छ ।

स्वाभाविक रूपमा नाक र कानको सम्बन्ध एउटा ट्युबले जोडेको हुन्छ । नाकको इन्फेक्सन गएर कानमा पुग्छ र कान पनि दुख्ने हुन्छ र संक्रमण हुन थाल्दछ । पसिना बढी आउँदा मानिसको कान चिलाउँछ । त्यो समयमा कोट्याउने बानी हुन्छ । कान कोट्याएपछि त्यसले झन् उल्टै संक्रमण गर्छ र कान पाक्ने रोग हुन्छ । कान पाक्ने रोग पनि दुई किसिमका हुन्छन्, एउटा अल्पकालीन र अर्को दीर्घकालीन ।

रुघाखोकी लागेर कान पाक्नु अल्पकालीन हो । त्यो केही समयपछि आफै निको भएर जान्छ । दीर्घकालीनमा चाहिँ लामो समयसम्म कान पाक्ने, सुक्ने वा बाह्रै महिना गन्हाउने र पिप आइराख्ने हुन्छ । जाली फुटेर कान पाक्ने रोग पनि कानको दीर्घकालीन रोग हो । यसो भएमा पटक–पटक कान पाक्ने र सुक्ने हुन्छ । अर्कोतर्फ दीर्घकालीन गन्हाउने, पिप आइराख्ने र लगातार कान पाकिराख्ने गर्नाले खतरा खालको मस्तिष्कमा असर गर्ने हुन्छ । अरू समयमा भन्दा बढी रुघाखोकी लाग्दा र नलागेको अवस्थामा पनि सुषुप्त रहेका रोगहरू सक्रिय हुन्छन् र सामान्य कान पाक्ने रोगले पनि गम्भीर रूप लिन सक्छ ।

कुन उमेर समूहका व्यक्तिलाई बढी समस्या देखापर्छ रु
केटाकेटी, वृद्धवृद्धा र गर्भवतीलाई बढी नाक, कान, घाँटीको समस्या देखापर्छ भने रोगविरुद्ध लड्ने क्षमता नभएका वा क्षमता ह्रास भएर गएका सबै उमेर समूहका व्यक्तिलाई बढी समस्या देखापर्छ ।

बच्ने उपायहरू

आफ्नो शरीरलाई स्वस्थ राख्ने । त्यसका लागि शरीरको स्याहार गरेर स्वस्थ खानेकुरा खानुपर्छ । धुलो, धुँवाबाट जोगिनुपर्छ । रुघाखोकी लागेको समयमा पनि भिटामिन सी युक्त खानेकुरा बढी मात्रामा प्रयोग गर्ने, पानी पिउने, चुरोट पिउने बानी छ भने नखाने वा त्यसबाट पनि जोगिने गर्नुपर्छ ।

जटिलताहरू

विशेषगरी नाक र कानमा बढी इन्फेक्सन भएर पछि मस्तिष्कमा जान सक्ने डर हुन्छ । यसले म्यानेन्जाइटिसदेखि लिएर मस्तिष्क र टाउकामा रहेका विभिन्न कोषहरूलाई असर गर्न सक्दछ । कान, नाक र घाँटीको इफेक्सन बिस्तारै तल गएर निमोनिया, ब्रोंक्राइटिस हुने, पहिलेदेखि नै दम छ भने दम बढ्ने समस्या हुन्छ । कसैलाई सामान्य रुघाखोकीले पनि शरीरभरी कीटाणु फैलिएर गम्भीर अवस्था देखापर्छ भने कतिपयको फोक्सो नै ड्यामेज हुन्छ । खानेकुरादेखि लिएर हरेक गलत व्यवहार र रोगसँग लड्ने क्षमता छैन भने त्यस्ताको मृत्युसमेत हुन सक्छ ।

(चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पतालका विभागीय प्रमुख प्रा.ड. ढुण्डिराज पौडेलसँग बाह्रखरीकर्मी यसिमा महतले गरेको कुराकानी) ।

प्रा.डा. ढुण्डीराज पौडेल

एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्