छाडा चौपाया नियन्त्रण गर्न अत्याधुनिक गौशाला निर्माण हुँदै

धनगढी,   असोज २९ । छाडा गाईगोरु नियन्त्रणमा कमी नआएपछि धनगढीमा जनस्तरबाटै गौशालाको निर्माण हुने भएको छ ।

स्थानीय निकायहरुले छाडा चौपाया नियन्त्रणमा करोडौं रकम खर्च गरेपनि समस्या ज्यूँका त्यूँ रहेपछि स्थानीय बासिन्दा आफै धनगढी उपमहानगर पालिका-३ चटकपुरस्थित मोहना नदी किनारमा गौशाला निर्माणमा जुटेका हुन् ।

गौ संरक्षण सेवा समितीको अगुवाइमा भइरहेको उक्त गौशाला सुविधासम्पन्न रहने बताइएको छ । हाल तयारीको अवस्थामा रहेको उक्त निर्माण कार्यका लागि जनस्तरबाट झण्डै १२ लाख रकम संकलन भएको बताइएको छ ।

गौशाला निर्माण भएमा छाडा पशु चौपाय नियन्त्रणमा आउनुका साथै त्यसवाट राम्रो आम्दानी समेत गर्न सकिने अपेक्षा गरिएको छ ।

उक्त गौशालाको निर्माणको काम धनगढी राजघाट मार्गस्थित मोहना नदीको किनारमा अगाडि बढिरहेको छ । त्यहाँ गाईहरुको संरक्षणका साथै त्यसबाट आम्दानी गर्न सकिने गरि विभिन्न किसिमका कामहरु पनि गरिने बताइएको छ ।

त्यहाँ गौमुत्र प्रशोधन, अर्गानिक कृषि खेती लगायतका धेरै कामहरु गर्ने योजनाका जनस्तरबाट आधुनिक गौशाला निर्माणको काम थालनी गौ संरक्षण सेवा समितीका उपाध्यक्ष चेतराज पाण्डेयले जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्