समृद्धिका लागि राजनीतिभन्दा माथि उठ्छौः शहरी विकासमन्त्री

नेपालगञ्ज, असोज २९ । शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले समृद्धिका लागि राजनीतिभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका छन् । मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ नेपालगञ्जले सोमबार आयोजना गरेको शुभकामना कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

 

साथै, मन्त्री राईले नेपालगञ्ज शहरलगायत बाँके जिल्लालाई नै विकासको दृष्टिकोणबाट नमूना जिल्ला बनाउन मन्त्रालयबाट योजना छुट्याएको बताए ।

 

उनले शहरी मन्त्रालयअन्तर्गत बाँकेमा भेरी अञ्चल अस्पतालको स्तरोन्नति, राष्ट्रियस्तरको पार्क र धर्मशालाको निर्माण, महिला स्नातकोत्तर कलेज स्थापना, सभा हल तथा सडक सुधार लगायतका भौतिक संरचना निर्माण गर्ने काम प्राथमिकतामा राखिएको बताए।

 

उनले आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता नेपालगञ्जमा सम्पन्न गर्न बजेटलगायतका आवश्यक सबै कुराको अभाव हुन नदिन आफू पूर्णरुपमा लागि पर्ने प्रतिबद्धता जनाए ।

 

सो अवसरमा मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम ओलीले आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका बारेमा जानकारी गराएका थिए । प्रदेश सांसद सुरेन्द्र हमाल र मोहम्मद याकुव हल्वाइले प्रतियोगिताको सफलताका लागि आफूहरु लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्