टीकाको दिन प्रहरीको निःशुल्क बस सञ्चालन

कास्की, असोज २९ । दसैंको टीकाको दिन पोखरामा सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । कात्तिक २ गते दसैंको टीकाको दिन सशस्त्रको हुलदंगा व्यवस्थापन तालीम शिक्षालय लामापाटनको एउटा बसले सर्वसाधारणलाई निःशुल्क सेवा दिने भएको तालीम शिक्षालय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र बस्नेतले जानकारी दिए ।

 

लामा पाटनबाट बिहान १० बजे छुट्ने बस अमरसिंहचोक, मुस्ताङचोक, छोरेपाटन, लेकसाइड, जिरो किमी, सिर्जनाचोक, न्यूरोड, चिप्लेढुङ्गा, नदीपुर, बगर, रानीपौवाको रुटमा दिउँसो ४ बजेसम्म चल्नेछ ।

 

बस सेवाबाट प्रहरीको गस्तीका साथसाथै सेवा पनि हुने भएकाले जनतालाई थप सहज हुने विश्वास गरिएको छ । त्यस्तै तालीम शिक्षालयले टीकाको दिन पोखरा बजारभित्र आकस्मिक अवस्थामा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । तालीम शिक्षालयको हटलाइन नं ९८५१२७२०६० र ९८५१२७२०१८ मा फोन गरेर एम्बुलेन्स सेवा लिन सकिने बताइएको छ । -रासस

कमेन्ट गर्नुहोस्