दसैं मनाउन काठमाडौंबाट १८ लाख बढी यात्रु बाहिरिए

काठमाडौं, असाेज २९ । दसैं मनाउन अहिले काठमाडौंबाट हजारौंको संख्यामा मानिस गृहजिल्लामा गइरहेको छन् । तीन दिनमा मात्र १८ लाख बढी यात्रुले राजधानी छाडेका छन् । यो संख्या हरेक दिन बढिरहेको छ । राजधानीको नागढुंगा, पासाङल्हामुमार्ग, बल्खु, अरनिको राजमार्ग र साँखु नाकाबाट यात्रु बाहिरिने गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार घटस्थापनादेखि उपत्यकाबाट बाहिरिनेको संख्या १८ लाख पुगिसकेको महाशाखाका प्रमुख बसन्त पन्तले जानकारी दिए । उनले राजधानीबाट बाहिरिने साना तथा ठूला सवारीसाधनको चाप अत्यधिक बढेको बताए।

 

१३ स्थानमा नागरिक सहायता कक्ष, ३२ स्थानमा रिफ्रेस सेन्टर, १४ जिल्लामा टाइम कार्ड व्यवस्था गरिएको उनले जानकारी दिए। गाडी बिग्रेमा तत्काल उद्धारका लागि थानकोटमा दुइटा र्‍याकर व्यवस्था गरिएको उनले बताए।

 

अरू बेला दैनिक पन्ध्र सय सवारीसाधन आवतजावत गरे पनि दसैंको समयमा दैनिक ३० हजार भन्दा बढी साना तथा ठूला सवारीसाधन राजधानीबाट बाहिरिने गरेका छन् । राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले दैनिक ३ हजार ५ सयदेखि ४ हजार गाडी सञ्चालनमा ल्याइएको बताए।

 

महासंघका अनुसार गत वर्ष दसैंमा करिब २० लाख मानिस उपत्यकाबाट बाहिरएका थिए। यस पटक करिब २५ लाख नाघ्ने अनुमान स्वारको छ। नागढुंगा(मुग्लिन खण्डको सडकमा यात्रुले निकै सास्ती भोग्नुपरेको उनले जनाए।

 

प्रत्येक दिन बिहान पाँच बजेदेखि राति ९ बजेसम्म सवारीसाधन बाहिरिने गरेको उनले बताए। यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकालले राजमार्गमा ठूला सवारीसाधन बिग्रिँदा ट्राफिक जाम हुने गरेको बताए।

कमेन्ट गर्नुहोस्