युद्ध संस्मरण : डाक्टरलाई सहिद हुन हिँडेको भने…

अनुपम थामी

मलाई यतिखेर विश्वविख्यात वैज्ञानिक चार्ल्स डार्बिनको भनाईको याद आइरहेछ । ‘जो व्यक्ति संघर्ष गरेर बाँच्न सक्षम हुन्छन्, तिनीहरू नै सबैभन्दा योग्य हुन्छन् ।’ त्यसै गरी सर्वहारावर्गका महान गुरु माक्र्सको भनाईले पनि ब्यूँझाइरहन्छ ‘रगत क्रान्तिको उर्जा हो ।’ यी र यस्तै उर्जाशील भावना, प्रज्ज्वलित विचार र अदम्य साहसको भारी बोकेर महान जनयुद्धमा हाम फालेको थिएँ ।

वर्गदुश्मन विरोधी कठोर मोर्चाहरूमा सामेल भएको थिएँ । मोर्चामा जोकोही व्यक्ति सामेल हुन सक्दैनन् किनकि मोर्चा या युद्ध भनेको आफूलाई ढाक्ने कात्रो बोकेर हिँडिने यात्रा हो । आफैँ पुरिनको निम्ति साबेल र कोदाली बोकेर दौडिने यात्रा हो । गर या मरको कठोरभन्दा कठोर स्थिति हो । अहिले सम्झिँदा लाग्छ यी भीषण मोर्चाहरूमा फायर कसरी खोलियो होला ! दुश्मनमाथि हुरीझैँ कसरी जाइ लागियो होला ! मोर्चाका यी कहालीलाग्दा कहानीहरू सुनाउँदा कतिपयलाई त लाग्छ कि यो कुनै पौराणिककालको महाभारत र रामायणजस्तै दन्त्यकथा हो । तर, यथार्थ र इतिहास जहिल्यै पनि तीतो हुन्छ । मोर्चा खोल्ने क्रममा घायल भएपछिका तीतामीठा क्षणलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु ।

२०५७ साल चैत्र १९ गते राति दोलखा जिल्लाको मैनापोखरीस्थित प्रहरी स्ट्राकिङ बेसमाथि धावा बोल्दा गम्भीर घाइते भएको थिएँ । पेटबाट गोलीले आन्द्रा छिचोल्दै हिपबाट वारपार भएर जीवन मृत्युको दोसाँधमा थिएँ । (यो घायल भएको संस्मरण पहिले नै लेखिसकेको छु ।) मलाई सहयोद्धाहरू, जनताहरू र आफन्तहरूले रातदिन गरेर बल्लतल्ल काठमाडौको बि एन्ड बि अस्पताल पुर्याएका थिए । दुश्मनका भीषण घेराबन्दीका बीचबाट मलाई काठमाडौं पुर्याउन अति जोखिमयुक्त कदम थियो ।

त्यतिबेला पार्टीपंक्तिका कमरेडहरू, स्थानीय तहका कमरेडहरू र सहयोद्धा कमरेडहरूलाई अति नै सम्झिरहन मन लाग्छ । किनकि उनीहरूले नै मलाई अर्को जीवन दिने काम गरेका थिए । मलाई मेरै गाउँको गुजर्पा, दोर्पा, गोंखा, सुक्राम देउराली हुँदै मकैबारीबाट गाडी चढाएर काठमाडौं पुर्याएका थिए । मलाई लैजानको निम्ति भाइ उज्ज्वलले गाडीको व्यवस्था गरेका थिए । त्यतिवेला मलाई त केवल कतै उडे जस्तो र कतै गुडे जस्तो भान भइरहेको थियो । बाटाभरी आमाले भन्नुभएको कुराले साहस थपिरहन्थ्यो । ‘मेरो छोरा देशको लागि लड्यो र घाइते भयो । यो क्रान्तिको अनिवार्य नियम हो । नआँतिकन मेरो छोरालाई उपचारमा लैजानु ।’

यतिवेला बुवासँग भेट भएन । उहाँ बाटामा एम्वुस थाप्न जानुभएको थियो । भाइबहिनीहरूले पनि सानै उमेरमा घर छाडिसकेका थिए । त्यतिवेला आमासँग मात्र भेट भयो । त्यतिवेला सम्झना आयो कि घर छोड्ने बेलामा मेरो बुबाआमाले मलाई टीका लगाएर युद्धमा पठाउनु भएको थियो । यसर्थ मलाई गौरव लागिरहेको थियो । यस्तो महान् बुबाआमा विरलै मान्छेले पाउलान् । तर मैले पाएँ ।

‎कहिले निस्लाम सुतिरहे जस्तो हुन्थ्यो भने कहिले निद्राबाट ब्यूँझे जस्तो हुन्थ्यो । यस्तै हुँदाहुँदै हस्पिटल पुगेको थिएँ । हस्पिटलको बेडमा पुग्दा डर डर पनि लागिरहेको थियो । त्यहाँ पुलिसहरूको पनि आवतजावत भइरहन्थ्यो । किनकि त्यही लडाइँमा घाइते भएका पुलिसको उपचार पनि त्यहीँ हुँदै रहेछ । त्यतिबेला मलाई क. चन्द्र, क. प्रवेशले हस्पिटल भर्ना गरेका थिए । अहिले पनि ती कमरेडहरूको झल्झल्ती याद आइरहन्छ । भर्ना भइसकेपछि सुरुमा चेकजाँच भयो । डक्टरहरूको एउटा टोली नै खटियो । गोलीले छिचोलेको ठाउँमा साथीहरूले पहिले नै टाँका लगाएका थिए । डक्टरले कहिल्यै पनि यस्तो गर्नुहुन्न ! भनेर कराइदिए । त्यसपछि बल्लतल्ल बाँच्ने आशा पलाएको थियो । देशैभरिबाट चैत २४ को फौजी कार्वाहीका धक्काले मोर्चा विजयका खबरहरू आइरहेका थिए । रुकुमकोट र नौमूलेमा पनि धावा बोलिएका खबरहरू टेलिभिजनको पर्दामा आइरहेका थिए । मलाई कताकता राहतको महसुस हुन्थ्यो । भित्रभित्रै खुसीको सीमा बढिरहन्थ्यो । पत्रपत्रिकामा पनि फोटोसहितका खबरहरू आइरहेका थिए । तर डक्टरहरू मेरो उपचारमा तल्लीन थिए ।

नाकबाट पाइप घुसारेर पेटसम्म पुर्याइएको थियो । पाइपले पेटमा जमेको हरियो पानी निरन्तर तानिरहेको थियो । त्यो हरियो पानी यतिसम्म रहेछ कि कुनै सानो–सानो ट्यांकीबाट पानी ताने जस्तो थियो । जति पानी रितिँदै गयो उति आराम मिलेको महसुस भइरहेको थियो । बारम्बार बेहोस हुने क्रम रोकिएको थियो ।

दुखाई पनि अलि कम हुँदै गएको आभास भइरहेको थियो । सुविधायुक्त अस्पताल पुग्नुको फाईदा नै त यही थियो । तर मेरो संवेदनशील भाग पेट र आन्द्राको अप्रेसन छिटोभन्दा छिटो गर्नुपर्ने थियो । समय धेरै गुज्रिसकेको थियो । अझ मलाई त छिट्टै अस्पताल पुर्याइएको थियो । कारण म घाइते हुँदा गुमुखोलाका डक्टर तिर्थ शिवाकोटीले हेरेका थिए । उनी भूपू आर्मीका डक्टर भएकोले छिटो उपचारमा पुर्याइएन भने मान्छे बाँच्दैन भनेपछि मात्र मलाई छिटो छिटो अस्पताल पुर्याइएको रहेछ । त्यो कुरापछि मात्र थाहा भयो । उनको यो गुणलाई पनि कहिल्यै बिर्सन सक्दिन ।

उठेर डक्टरलाई नै छोपौं कि जस्तो लागेको थियो । तर सम्हालिएर भनें । ‘तपाईंको साथमा आइपुगेको छु, डक्टर साब !

‎जब मेरो अप्रेसन गर्ने दिन थियो चैत्र २४ गतेको दिन । जताततै लडाइँ भिडन्तका खबरहरू आइरहेका थिए । जीवन मृत्युको दोसाँधमा भए पनि सहयोद्धाहरूलाई सम्झिरहेको थिएँ । चैत २४ को नेपाल बन्द भएकोले यातायातका साधनहरू कतै पनि चलेका थिएनन् । सबैतिर ठप्पै थियो । मेरो अप्रेसनको लागि रगतको आवश्यकता परेको थियो ।

रगत लिन ब्लड बैंकमा जानुपर्ने थियो । यातायातका साधनहरू नचलेकोले समस्या भइरहेको थियो । तर पनि भाइ उज्ज्वलले रगत लिन साइकलमा ब्लड बैंकतिर गएका थिए । त्यत्तिकैमा मेरो बेडमा आएर मलाई एक जना डक्टरले एकाएक पत्रकारले जस्तै अन्तर्वार्ता लिन खोजे । लाग्थ्यो उनी डक्टर नभएर कुनै पत्रकार हुन् । सेतो एप्रोन र स्टेथेस्कोप भिरेर उभिएका गोरो वर्णको डक्टर थिए । उनको नाम त के थियो थाहा भएन । उनले एक्कासि मलाई प्रश्न गरे ‘तिमीहरू देश र जनतालाई मुक्त गर्छु भन्छौ, यस्तो अस्तव्यस्त, हत्या, हिंसा र तोडफोड, बन्द, हडताल गरेर देश मुक्त हुन्छ ? अहिलेको कुरा गरौं ! तिम्रो तुरुन्त अप्रेसन गर्नुपर्नेछ ! तिमीलाई ब्लडको खाँचो छ । बन्दको कारणले ब्लड उपलब्ध हुन सकेको छैन । तिम्रो ज्यान जान पनि सक्छ,’ भनेर प्रश्न तेर्सयाए ।

उनी निरन्तर खोइ के के बोलिरहेका थिए । रेडियोजस्तै निरन्तर ! मलाई पनि पारो तातेर आयो । अस्पतालभित्र रंगीचंगी बत्तीहरू बलिरहेका थिए । तर मैले एक्कासि अँध्यारो देखें । उठेर डक्टरलाई नै छोपौं कि जस्तो लागेको थियो । तर सम्हालिएर भनें । ‘तपाईंको साथमा आइपुगेको छु, डक्टर साब !

म देश र जनताको निम्ति हिँडेको मान्छे हुँ । तपाईंलाई मेरो कारणले केही समस्या हुन्छ भने मेरो अप्रेसन गर्नु पर्दैन । म यही अस्पतालमा मर्न चाहन्छु । म देश र जनतालाई शिरमा राखेर सहिद हुन चाहन्छु ।’ यति भनिसकेपछि उनले मलाई एकोहोरो हेरिरहे । केही बोल्न सकेनन् । त्यसपछि मेरो अप्रेसनको तयारीको लागि नर्सहरू सर्जाम बोकेर आए । म अप्रेसन थिएटरमै निस्लाम निदाएछु ।

कालिन्चोक गाउँ पालिका,
लापिलाङ दोलखा

साहित्य संग्रह डट कमबाट साभार गरिएको ।

कमेन्ट गर्नुहोस्