जंगल मास्न गोदावरीमा राजधानी होइन, वृक्षारोपण गर्न होः सांसद भट्ट

कैलाली, असोज ३० । पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय स्थायी समिति सदस्य लेखराज भट्टले गोदावरीमा राजधानी तोकिनु जंगल मास्नलाई नभई बरु वृक्षारोपका लागि रहेको बताएका छन् ।

 

आज (मंगलबार) आफ्नै निवासमा दसैं तथा तिहारको शुभकामना आदान-प्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद भट्टले भने, ‘जंगल मास्ने कुरो हुँदैन, बरु वृक्षारोपणमा विशेष जोड दिइन्छ ।’

 

उनले अगाडि थपे,‘ मेरो बसाई अत्तरियामा निकै पुरानो हो । मैले बुझेको जैविक मार्ग गोदावरी तेघरी क्षेत्र होइनू । मेरो बुझाइमा जैविक मार्ग त लालझाडी र बसन्ता हो, यो क्षेत्र त सधैं बस्ती क्षेत्र नै हो ।’

 

साथै, उनले गोदावरीको तेघरी नै सुदूरपश्चिमको राजधानीका लागि उपयुक्त रहेको दाबी गरे । सांसद भट्टले धनगढीलाई ब्यबसायिक केन्द्र, अत्तरियालाई प्रशासनिक केन्द्र र दिपायललाई शैक्षिक केन्द्र बनाउनु पर्नेमा जोड दिए ।

फरक प्रशंगमा बोल्दे पूर्व मन्त्रीसमेत रहेका भट्टले तत्काल प्रदेश सरकारको मन्त्रीमण्डल हेरफेरको सम्भावा नरहेको जानकारी गराए । शुभकामना आदान-प्रदान कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखको उपस्थिती थियो ।

कमेन्ट गर्नुहोस्