नौं वर्षमा बाघको संख्या दोब्बर

काठमाडौं, असोज ३१ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ९ वर्षमा नेपालमा बाघको संख्या दोब्बरनजिक पुगेको जानकारी दिएका छन् । बेलायत सरकारद्वारा लन्डनमा सोमबार आयोजित वन्यजन्तुको अवैध व्यापार निराकरणसम्बन्धी दुईदिने सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले उक्त जानकारी दिएका हुन् ।

बस्नेतले ११ अक्टोबरको पूर्ण सत्रमा वन्यजन्तुको अवैध व्यापारलाई निरुत्साहन र नियन्त्रण गर्न नेपाल सरकारले लिएका नीति तथा कार्यक्रमबारे समेत प्रकाश पारे। उनले २३ प्रतिशत नेपालको भूभाग संरक्षित क्षेत्र रहेको र वन्यजन्तुको सिकारमा पूर्ण प्रतिबन्ध लगाइएकाले सन् २०११ देखि २०१८ सम्ममा गैंडाको सिकार शून्य रहेको जानकारी गराउँदै नेपाल सरकार वन्यजन्तुको संरक्षणमा पूर्ण प्रतिबद्ध रहेको बताए।

नेपाल सरकारले वन, वातावरण तथा वन्यजन्तुको संरक्षणमा समुदायको सहभागितामा जोड दिने नीति अवलम्बन गरेको बताउँदै मन्त्री बस्नेतले यसबाट समुदायसमेत लाभान्वित भइरहेको विचार व्यक्त गरे।उनले वन्यजन्तुको व्यवस्थापन पक्ष वर्तमानको चुनौती रहेको पनि बताए।

सम्मेलन उद्घाटन सत्रमा बेलायती विदेशमन्त्री जेरेमी हन्टले नेपालमा सन् २००९ देखि हालसम्मको स्थितिमा बाघको संख्या दोब्बर वृद्धि भएको र चार वर्षदेखि गैंडा र बाघको सिकार शून्य रहेकाले यस्तो उदाहरणीय कार्यको अन्य देशहरूले पनि अनुसरण गर्नुपर्ने विचार व्यक्त गरेका थिए।

अवैध वन्यजन्तु व्यापारलाई संगठित अपराधका रूपमा लिई यसको नियन्त्रणका लागि सरकार र सबै सरोकारवाला निकायबीच साझेदारी र सहयोग अभिवृद्धि लक्ष्यसहितको २० बुँदे विश्व घोषणा जारी गर्दै सम्मेलन १२ अक्टोबर २०१८ मा सम्पन्न भएको हो। कन्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्