नेता नेपाल भन्छन्,–‘प्रधानमन्त्री ज्यू, बलियो डन्डा हातमा लिएर अघि बढ्नुहोस्’

रौतहट, असोज ३१ । पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न प्रकारका सुझाव दिइरहेका छन् । गल्ति गर्नेलाई कडा कारवाहीको माग गर्दै उनले प्रधानमन्त्रीलाई विभिन्न सुझाव दिइरहेका हुन् ।

 

यसैबीच, नेता नेपाल आफ्नो गृहजिल्ला पुगेर प्रधानमन्त्री ओलीलाई अर्को सुझाव दिएका छन् । उनले प्रधानमन्त्रीलाई बलियो डन्डा हातमा लिएर अगाडि बढ्न सुझाव दिएका हुन् । साथै, नेता नेपालले प्रधानमन्त्री ओली र पार्टी प्रचण्डलाई भेटेर मुलुकको बेहाल अवस्था टुलुटुलु हेरेर बस्न नसक्ने धारणा राखेका छन् ।

 

मंगलबार चन्द्रनिगाहापुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेपालले संसदमा आफूले पार्टी र सरकारको विरोध गरेको नभई जनताको भावना बोलेको बताए ।

 

उनले आफ्नो उद्देश्य सरकारको मनोबल गिराउने नभई मद्दत गर्ने रहेको उल्लेख गर्दै प्रजातन्त्रको नाममा अराजकता बढेकाले कसैले कसैलाई नटेरेको अनुभव सुनाए । देशमा घूस खाने, ढिलासुस्ती गर्ने प्रवृत्ति बढेकाले त्यसको खबरदारी गर्न उनले कार्यकर्तालाई निर्देशनसमेत दिए ।

कमेन्ट गर्नुहोस्