जयनगर–जनकपुर रेल डिसेम्बरभित्रै सञ्चालनमा आउँछः मन्त्री महासेठ

धनुषा, असोज ३१ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जयनगर–जनकपुर–कुर्थासम्मको रेल खण्ड डिसेम्बरसम्म निर्माण सम्पन्न भई सञ्चालनमा आउने बताएका छन् ।

 

भारत सरकारको सहयोगमा निर्माणाधीन सो रेल खण्डको स्थलगत निरीक्षणका क्रममा मंगलबार भारतको जयनगर पुगेका मन्त्री महासेठले यस्तो बताएका हुन् । साथै, उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल–भारतको सम्बन्ध प्रगाढ भएको बताए ।

नेपाल र भारतका सञ्चारकर्मीसँगको भेटमा मन्त्री महासेठले भने,‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको दुवै सरकारबीचको सम्बन्ध सुमधुर छ ।’

 

यस्तै, मन्त्री महासेठले भारत सरकारको सहयोगमा निजगढ–काठमाडौं रेलमार्गसँगै हुलाकी राजमार्गलगायतका अनेकौं योजनामा काम भइरहेको बताए ।

 

मन्त्री महासेठसँगै रेल विभागका डीजी बलराम मिश्र, भारतीय निर्माण कम्पनी एरकोनका प्रमुख रवि सहाय, धनुषाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीक्षकसहितको टोली रेलमार्गबाट जनकपुरदेखि जयनगरसम्मको २९ किलोमिटरको यात्रासमेत गरे ।

कमेन्ट गर्नुहोस्