प्रचण्डको दशैंः यो वर्ष टीका नलाउने, कार्यकर्ता भेटघाटमा व्यस्त रहने योजना

काठमाडौं, असोज ३१ । नेपालीहरुलाई महान पर्व दसैंले छोएको छ । वर्षदिनमा एक पटक आउने पर्वलाई धूमधाम का साथ मनाउन सबै लागि परेका छन् । दसैं मनाउनकै लागि अधिकांश नेपाली टाढा-टाढाबाट थाथथलो फर्किरहेका छन् । देश चलाउने नेतालाई पनि दसैंले छोएको छ ।

 

दिनहुँ राजनीतिक छलफलमै व्यस्त भइरहने नेताहरुलाई भने दसैंको समयमा पनि परिवारलाई सोचेजति समय दिन सक्दैनन् । तर, केही नेताले भने दसैंलाई पनि आफ्ना कार्यकर्ता भेटघाटको अवसरका रुपमा प्रयोग गर्छन् । यसैबीच, यो वर्षको दसैं पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्ड कसरी मनाउँदै छन् ?

 

२२ वर्षपछि गएको वर्ष टीका लगाएका अध्यक्ष प्रचण्डले यस वर्ष भने टीका लगाउने छैनन् । लामो सशस्त्र युद्ध र संविधान निर्माणको काम सकेर प्रचण्डले गत वर्ष सपरिवार दसैंमा टीका लगाएर मनाएका थिए ।

 

गत वर्ष छोरा प्रकाश दाहालको निधन भएको र बरखी नसकिएकाले प्रचण्डले यसवर्ष टीका नलगाउने भएका हुन्। उनी दसैं अवधिभर बाहिर नजाने र घरमै कार्यकर्ता भेटघाटलगायतका काममा व्यस्त रहने उनको निजी सचिवालयले जनाएको छ ।

 

दसैंलगत्तै पार्टीको सचिवालयको बैठक, स्थायी कमिटीको बैठकको तयारी रहेकाले पनि प्रचण्ड दसैंमा काठमाडौंमै रहने छन् ।

कमेन्ट गर्नुहोस्