करबारेको हल्ला बढी, वास्तविकता कमः सांसद बस्नेत

काठमाडौं, कार्तिक १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा महेश बस्नेतले वर्तमान सरकारका बारेमा समीक्षा गर्ने समय भएको तर आलोचना गर्ने समय नभएको बताएका छन् ।

 

काठमाडौंमा बुधबार आयोजित साक्षात्कारमा सांसद बस्नेतले सरकार सञ्चालन भएको तथा संघीयता कार्यान्वयन भएको सात महीना भएकाले आजका दिनसम्म भएको सरकारका कामकारवाही, नीति नियम, कार्ययोजनालगायत कुराको समीक्षा जरुरी रहेको बताए।

 

सरकारले ल्याएको बजेट वितरणमुखीभन्दा पनि सङ्कलनमुखी भएको बताउँदै उनले वर्तमान सरकारको यो समयमा ३१ प्रतिशतले राजश्व वृद्धि भएको बताए ।

 

उनले करबारेको हल्ला बढी, वास्तविकता कम भएको बताउँदै स्थानीय तहले जनतालाई समस्या हुने कुनै पनि प्रकारको करको वृद्धि नगरेको स्पष्ट पारे।

 

सांसद बस्नेतले स्थानीय सरकारमा कुनै सत्तापक्ष र प्रतिपक्ष नहुने जिकिर गर्दै स्थानीय तहका राम्रा र नराम्रा दुवै कार्यको जिम्मेवारी सबैको बराबर हुने बताए । उनले भने, ‘कार्यका आधारमा ५५ प्रतिशत नगरपालिका वा गाउँपालिकाको प्रमुखले जिम्मा लिनुपर्छ भने ४५ प्रतिशतको जिम्मा अरु सबैले लिनुपर्छ ।’ सांसद बस्नेतले स्थानीय तहमा कर्मचारी अभावका कारण काममा समस्या आएको स्वीकार गरे ।

 

अन्तर्राष्ट्रिय रङ्गशाला, प्राणी उद्यान, सभागृह, राजमार्ग, सुरुङ मार्ग, रेलमार्ग, जलमार्ग, एक प्रदेशदेखि अर्को प्रदेशका बीचमा गर्नुपर्ने विकास, स्मार्ट सिटी, ठूलाठूला विद्युत् उत्पादनलगायत विकासनिर्माण स्थानीय तथा प्रदेश सरकारले नभई संघीय सरकारले गर्ने उनले बताए ।

 

पूर्व मन्त्रीसमेत रहेका बस्नेतले निर्मला पन्तको घटनालाई जोडेर नेपालको शान्ति र सुरक्षालाई कमजोर ठान्नु गलत हो भन्दै सत्यतथ्यसहित दोषीलाई सरकारले कानूनी दायरामा ल्याउनै पर्नेमा जोड दिए । -रासस

कमेन्ट गर्नुहोस्