पहिलो पटक २८ जनाको आरोहण टोली साइपाल चढ्दै

कैलाली, कार्तिक २ । बझाङको साइपाल हिमाल आरोहण गर्न आएको एक आरोण टोलीलाई विदाई गरिएको छ । विदेशी तथा स्वदेशी २८ जना आवद्ध टोलीलाई कैलालीमा आज (बिहीबार) भव्य विदाई गरिएको हो । बिहीबार नै सो आरोहण टोली बझाङ प्रस्थान गरेको छ ।

 

आरोण टोलीलाई सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले नेपाली झण्डा दिएर विदार्इ गरिन् । टोलीको विदाई गर्दै मन्त्री भट्टले सफल आरोहणको शुभकामना दिइन् । आरोहण टोलीमा अमेरिका, फ्रान्स, स्पेनलगायत देशका चर्चित हिमाल आरोहीहरु रहेका मिसन साइपाल अभियानका संयोजक भोजराज भाटले जानकारी दिए ।

 

त्यस्तै टोलीमा ४ जना बझाङका किशोरीहरु र ४ जना शेर्पाहरु पनि रहेका छन् । साइपाल गाउँपालिका वडा नम्बर ४ की २० बर्षिया संगिता रोकाया, साइपालकै वडा नम्बर ३ की २६ बर्षिया लक्ष्मी बुढा, तल्कोट गाउँपालिका १ की सरस्वती थापा र सुर्मा गाउँपालिका ३ की पवित्रा बोहरा पनि साइपाल आरोहण गर्दैछन् ।

 

उनीहरुले हिमाल आरोहण सम्बन्धी झन्डै ४५ दिनको अभ्यास कोर्श पनि लिएका छन् । करिब ३५ दिन लगाएर गरिने उक्त आरोहणको उद्देश्य पर्यटन विकासको लागि रहेको अभियानकर्मी भाटले बताए । साइपालको बेसक्याम्प पुग्न ५ दिन लाग्छ ।

 

सात हजार ३१ मिटरको उचाइमा रहेको साइपाल हिमालमा पहिलो पटक आरोहणको प्रयास सुरु गरिएको हो । यो हिमाल आरोहणका लागि पाँच वर्षअघि अनुमति दिइएको थियो ।

कमेन्ट गर्नुहोस्