ढुक्क रहनुस् अर्को वर्ष वृद्ध भत्ता बढ्छः प्रधानमन्त्री ओली

बिर्तामोड, कार्तिक १ । प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारले देशको सम्पूर्ण ढुकुटी रित्याएर गएकाले वर्तमान सरकारले वृद्ध भत्ता बढाउन नसकिएको बताएका छन् ।

 

बडादसैं, शुभ दीपावली, छठ तथा नेपाल सम्वतको अवसरमा गृहजिल्ला झापाको बिर्तामोडमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

 

उनले अर्थतन्त्रमा सुधार हुँदै गएकाले अर्को वर्षदेखि वृद्ध भत्ता वृद्धि गर्ने प्रतिबद्धक्ता व्यक्त गरे । ‘वृद्ध भत्ता हामीले नै सुरुआत गरेका हौं । सय रुपैयाँबाट बढाउँदै दुई हजारसम्म हामीले नै पुर्‍याएका हौं’ ओलीले भने, ‘यो पटक पनि वृद्ध भत्ता बढाउने भनेका थियौं । तर, अघिल्लो सरकारले ढुकुटी रिल्याएर गएकाले बढाउन सकेनौं । तपाइँहरु ढुक्क रहनुस् अर्को वर्ष बढ्छ ।’

ओलीले विपक्षीले विभिन्न बहानाबाजीमा आरोप र लाच्छना लगाउने कार्य गरे पनि आफू भने समृद्ध राष्ट्र र जनतालाई सुखी बनाउने संकल्पबाट विचलित नभई अघि बढिरहेको बताए । ‘ढुक्क हुनुहोस् । तपाईंहरुको विश्वास र आशालाई मर्न दिने छैन । तपाईहरुले मप्रति देखाउनुभएको विश्वासमा धक्का लाग्न दिने छैन’ प्रधानमन्त्री ओलीले भने, ‘सुखी जनता र समृद्ध राष्ट्र निर्माणका लागि म अघि बढिरहेको छु ।’

 

प्रधानमन्त्री ओलीले केही मानिस सरकारलाई असफल बनाउन लागिपरेको बताए । उनले यो सरकार जोर–बिजोरले बनेको नभएकाले सजिलोसँग ढल्छ भन्ने नसोच्न चेतावनी दिए ।

 

उनले भने, ‘अँध्यरो कोठामा बसेर षड्यन्त्रका चल्ला कोरल्दैमा र षड्यन्त्रका ओथाराहरुले यो सरकार ढल्दैन ।’ ओलीले पुर्खाले ‘सर्वे भवन्तु सुखिनस् सर्वे सन्तु निरामयाः’ भने जस्तो अबको केही वर्षभित्रमै देशको विकास हुने बताए । प्रधानमन्त्री ओलीले वर्तमान सरकारले भारत र चीनसँग समानताको सम्बन्ध बनाएको बताए ।

कमेन्ट गर्नुहोस्