सुदूरपश्चिमको पर्यटन विकासका लागि पहल जारी छः पूर्वमन्त्री भट्ट

कैलाली, कार्तिक २ । बझाङको साइपाल हिमाल चढ्न आएको एक आरोहण टोलीलाई विदाई गरिएको छ । विदेशी तथा स्वदेशी २८ जना आवद्ध टोलीलाई कैलालीमा आज (बिहीबार) भव्य विदाई गरिएको हो । बिहीबार नै सो आरोहण टोली बझाङ प्रस्थान गरेको छ ।

 

यसैबीच, पूर्वमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य लेखराज भट्टले आरोहण टोलीलाई सफलताको शुभकामना दिएका छन् । आफ्नै निवासमा पुगेको आरोहण टोलीलाई सांसद भट्टले शुभकामना दिएका हुन् । त्यसक्रममा उनले सुदूरपश्चिमको पर्यटन विकासमा यो आरोहणले ठूलो टेवा पुग्ने बताए ।

 

आगामी दिनमा आरोहणमा आइपर्ने समस्या समाधानका लागि आफूले पहल गर्ने सांसद भट्टले बताए । सुदूरपश्चिको पर्यटन विकासका लागिआफूले प्रदेश र केन्द्र सरकारसँग विशेष पहल गरिरहेको जानकारी दिए । आरोहण टोली मिसन साइपाल अभियानको सहयोगमा हिमाल चढ्न लागेको हो ।

 

यसअघि, आरोहण टोलीलाई सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले नेपाली झण्डा दिएर विदार्इ गरेकी थिइन् । टोलीको विदाई गर्दै मन्त्री भट्टले सफल आरोहणको शुभकामना दिइन् । आरोहण टोलीमा अमेरिका, फ्रान्स, स्पेनलगायत देशका चर्चित हिमाल आरोहीहरु रहेका मिसन साइपाल अभियानका संयोजक भोजराज भाटले जानकारी दिए ।

 

त्यस्तै टोलीमा ४ जना बझाङका किशोरीहरु र ४ जना शेर्पाहरु पनि रहेका छन् । साइपाल गाउँपालिका वडा नम्बर ४ की २० बर्षिया संगिता रोकाया, साइपालकै वडा नम्बर ३ की २६ बर्षिया लक्ष्मी बुढा, तल्कोट गाउँपालिका १ की सरस्वती थापा र सुर्मा गाउँपालिका ३ की पवित्रा बोहरा पनि साइपाल आरोहण गर्दैछन् ।

 

उनीहरुले हिमाल आरोहण सम्बन्धी झन्डै ४५ दिनको अभ्यास कोर्श पनि लिएका छन् । करिब ३५ दिन लगाएर गरिने उक्त आरोहणको उद्देश्य पर्यटन विकासको लागि रहेको अभियानकर्मी भाटले बताए । साइपालको बेसक्याम्प पुग्न ५ दिन लाग्छ ।

 

सात हजार ३१ मिटरको उचाइमा रहेको साइपाल हिमालमा पहिलो पटक आरोहणको प्रयास सुरु गरिएको हो । यो हिमाल आरोहणका लागि पाँच वर्षअघि अनुमति दिइएको थियो ।

कमेन्ट गर्नुहोस्