बैतडी, कार्तिक ३ । आज विजया दशमीको दोस्रो दिन पनि मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम आज पनि जारी छ ।
तर केही वर्ष अघिसम्म बैतडी लगायत सुदुरपश्चिममा सदरमुकाम बाहेकका ठाउँहरूमा दशैंका दिन कुलदेवताको मन्दिरबाट ल्याइएको जमरा र टीका ग्रहण गरेपश्चात् दशैँको चटारो सकिएर खर काट्ने काम सुरु हुनेगर्दथ्यो ।
बैतडीको दशरथचन्द नगरपालिका-५ स्थित त्रिपुरासुन्दरी मन्दिरमा दशैँकादिन टिका थाप्ने भक्तजनहरूको घुइंचो लागेको थियो ।
यसका अतिरिक्त निंगलाशैनी, डिलाशैनी, मेलौली लगायत जिल्लाका अन्य शक्तिपीठहरूमा समेत भव्य पूजा अर्चानाकासाथ दशैँ मनाइयो । यी शक्तिपीठहरूमा दशैँका दिन्न समेत बलि दिइने चलन रहेको छ ।
बैतडीका विभिन्न शक्तिपीठहरूमा लगभग १२ सय राँगा तथा बोकाहरूको बलि दिइएको छ जुन प्रदेशमै सबैभन्दा बढी रहेको छ ।
यहाँका अधिकांश ठाउँमा कोजाग्रत पूर्णिमाका दिन मन्दिर या देवस्थलमा बाँकी रहेका जमरा र टीका थाप्दै दशैँ विसर्जन हुने गरेको छ ।
तर समयसँगै र दशैँपछिका पाँचै दिन मान्यजनका हातबाट टीका थाप्ने चलन देशभरि चलेको छ ।
यसअघि हिजो देश विदेशमा रहेका नेपालीले घटस्थापनाका दिन दशैँघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजाआराधना गरिएको टीकाप्रसाद अग्रजको हातबाट थापेर आशिर्वादका साथ ग्रहण गरे ।
मान्यजनले टीका लगाइदिंदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगउन जाने परम्परा छ ।
यो क्रम पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्मै चल्ने गर्दछ । ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने दसैंलाई आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको कडीको रुपमा लिने गरिन्छ ।