महोत्तरी, कार्तिक ३ । शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले विश्वविद्यालयहरुले शिक्षाशास्त्रको अध्यापन रोक्नुपर्ने अभिव्यक्ति दिएका छन् ।
महोत्तरीको गौशालामा भएको उच्च शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पोख्रेलले बिद्यार्थी भर्ना लिने विश्वविद्यालयको नीति नै गलत भएको दाबी गरे ।
शिक्षक उत्पादन हुने शिक्षा संकायमा कमजोर बिद्यार्थीमात्र भर्ना गरेर कमजोर शिक्षक उत्पादन भैरहेको भन्दै मन्त्री पोखरेलले शिक्षामा सुधार ल्याउन विश्वविद्यालयको नीति परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
मन्त्री पोख्रेलले देशमा ७ लाख शिक्षण पेशाको लाईसेन्स लिएर बसेकालाई समायोजन नुहुन्जेलसम्म शिक्षा शास्त्रको अध्ययन/अध्यापन रोक्नुपर्ने बताए । मन्त्री पोख्रेलले भने, “शिक्षा संकायको पढाइ अहिलेलाई रोकौ, शिक्षण पेशाको जनशक्ति धैरै भयो, शिक्षक उत्पादन धेरै भयो, अब प्राविधिक शिक्षामा जोड दिऔं ।”
उनले शिक्षक उत्पादन गर्ने ‘उद्योग’ अर्थात शिक्षा संकायको पाठ्यक्रम र पठनपाठनमै कमजोरी रहेकाले अब ‘उद्योग’ नै परिवर्तन गरेर सार्वजनिक शिक्षामा रुपान्तरण गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।
“एउटा शिक्षकले मात्रै पढाएर हुँदैन, घरले समेत ध्यान दिनुपर्छ,” भन्दै मन्त्री पोखरेलले हरेक विद्यार्थीले विद्यालयको पढाइ सकिँदा एउटा सीप सिकेर जानुपर्ने गरी शिक्षामा रुपान्तरण गर्नुपर्ने आशय व्यक्त गरे । ‘अब कालोपाटीमा पढाएर मात्रै हुँदैन, प्राविधिक शिक्षा पढाउनुपर्छ,’ उनले भने ।