सबैलाई दसैंको रमझम, मुख्यमन्त्री भट्ट द्रुतमार्गको अवलोकनमा व्यस्त

कैलाली, कार्तिक ३ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खुटिया-बिपीनगर-दिपायल द्रुतमार्गको अवलोकन गरेका छन् । मुख्यमन्त्रीसहितको अवलोकन टोलीले द्रुतमार्गको स्याउलेदेखि हाटखोली हुँदै चौकीगडासम्म अवलोकन गरेको हो ।

 

सबैं दसैंमा रमाइरहेका बेला अचानक मुख्यमन्त्री भने द्रुतमार्गको अवलोकनमा निस्कीएका हुन् । उनीसँगै अवलोकन टोलीमा समाजिक विकास मन्त्री दिर्घ सोडारी पनि सहभागी थिए ।

 

द्रुत अवलोकनपछि मुख्यमन्त्री भट्टले द्रुतमार्ग निर्माण कम्पनीलाई यही आर्थिक वर्षभित्र धनगढी-दिपायल जोड्ने ट्र्याकको काम सक्न निर्देशन दिएका उनका स्वकिय सचिव शिव ओलीले जानकारी दिए । द्रुतमार्गको काम अगाडि बढाउन बजेटमा कुनै कमी हुन नदिने मुख्यमन्त्री भट्टले बताए ।

 

सरकारले यो द्रुतमार्गलाई शिघ्र सम्पन्न गर्न गत बर्ष बिपीनगरमा छुट्टै डिभिजन कार्यालय स्थापना गरेपनि काम अघि बढ्न सकेको छैन । सूर्य कन्ट्रक्सनले डोटीतर्फको क्षेत्रमा ट्र्याक खोल्ने ठेक्का पाएको छ। यता बिपीनगरदेखि कैलाली जोड्ने सडकको ठेक्का भन्ने अनेष्ट कन्ट्रक्सनले पाएको छ । अहिले यो योजना प्रदेश सरकारको मातहतमा आएको छ ।

 

स्याउलेदेखि हाटखोलीसम्म झण्डै १० किलोमिटरको ट्र्याक यस अघि नै खोली सकेको छ । उता डोटीको राजपुरबाट गड्सेरा अमौन डाँडासम्म र बिपीनगर कफलतडीसम्म ट्र्याक खुलेको छ । गड्सेराको अमनडाँडा र बिपीनगरको कफलतडीसम्मको ७ किलोमिटरमा ठेकेदारले ट्र्याक खोल्न लापरबाही गर्दा काम रोकिएको हो। त्यो बिचमा ठूलो चट्टान परेकाले त्यसलाई फोडेर ट्र्याक खोल्न ठेकेदार आनाकानी गरिरहेका छन् ।

 

७ बर्षअघि राष्ट्रिय योजनामा परेको सडक न्यून बजेट, ठेकेदारको लापरबाही र स्थानीयबीच उपभोक्ताको बिषयमा भएको विवादका कारण अलपत्र पर्दै आएको छ । उक्त मार्ग अहिले प्रयोग भइरहेको धनगढी-अत्तरीया-डडेल्धुरा-दिपायल सडकभन्दा एक सय १० किलोमिटर छोटो दूरीको छ । यो द्रुतमार्ग निर्माणपछि दिपायलसहित विकट अछाम र बाजुराबासीसमेतलाई सहज हुने छ ।

कमेन्ट गर्नुहोस्