बार्सिलोना शीर्ष स्थानमा उक्लियो, मेसी घाइते

एजेन्सी । अंक तालिकामा आफूभन्दा माथि रहेको सेभियालाई हराएर बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।तर, सेभियासँगको खेलमा बार्साका कप्तान लियोनल मेसी घाइते भएका छन् । उनको चोट कति गम्भीर हो भन्ने निर्क्यौल भैसकेको छैन ।

 

डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले शनिबार अबेर क्याम्प नोउमा भएको खेलमा पाहुना टोली सेभियालाई ४-२ गोल अन्तरले हराएर शीर्ष स्थानमा उक्लिएको हो ।

 

खेलको दोश्रो मिनेटमै मेसीको पासमा काउन्टिन्होको गोलबाट अग्रता लिएको बार्साका लागि दोश्रो गोल १२ औं मिनेटमा मेसीले गरेका थिए । २४ औँ मिनेटमा पाखुरामा चोट लागेपछि मेसी मैदानबाट बाहिरिए थिए । लुइस स्वारेजले ६३औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि बार्सा ३-०ले अगाडी भएको थियो ।

 

सेभियाका पाब्लो सराबियाले ७९ मिनेटमा एक गोल फर्काए । इभान राकिटिकले ८८ औं मिनेटमा गोल गरेर बार्सालाई ४-१ को अग्रता दिलाएका थिए । तर, अतिरिक्त समयमा सेभियाका मुरिएलले गोल गरेपछि समग्रमा बार्सा ४-२ ले बिजयी बन्यो ।

सिजनको सुरुआत शानदार गरेको बार्सिलोना पछिल्ला चार खेलमा जितविहीन बनेको थियो । बार्सिलोना लिगको नवौं चरणको खेलमा भने स्पष्ट जित हासिल गर्न सफल भयो । बार्सिलोना यसअघिका ४ खेलमध्ये भ्यालेन्सियासँग १-१, एथ्लेटिक बिल्बाओसँग १-१ र जिरोनासँग २-२ को बराबरीमा रोकिँदा लेगानेससँग २-१ ले हारेको थियो ।

कमेन्ट गर्नुहोस्