स्वयम्भूकाे शान्तिपुर मन्दिर जीर्णाेद्वार हुन नसकेर अलपत्र

काठमाडौँ, कात्तिक ४  ।  विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा रहेको शान्तिपुर मन्दिर अझै मर्मत तथा जीर्णोद्धार हुन सकेको छैन । मन्दिरकाे जिर्णाेद्वारका निम्ति तन्त्रको दीक्षा लिएका डकर्मी, सिकर्मीलगायत जनशक्ति अभाव हुँदा यसमा समस्या भएकाे हाे ।

मन्दिरमा तान्त्रिक देवी भएको विश्वासका कारण सर्वसाधारण कामदारलाई भित्र जान प्रतिबन्ध गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका परकम्पका कारण सो सम्पदा चर्केर भत्कने अवस्था आएपछि करीब दुई वर्ष अगाडि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले करीब रु चार करोडको लागतमा मर्मत शुरु गरेको थियो । तन्त्र साधनाका लागि महत्वपूर्ण उक्त मन्दिरमा केही गोप्य कागजपत्र, तान्त्रिक पूजाका अभ्यास र तान्त्रिक देवदेवीको साधना विधि राखिएकाले सर्वसाधारणलाई पूजा तथा दर्शनको व्यवस्था गरिएको छैन ।

शान्तिपुर मन्दिर कहिले निर्माण भएको भनेर यकिनका साथ भन्न नसकिए पनि लिच्छविकालको अन्त्य र मल्लकालको शुरुआतबीचको सङ्क्रमणकालमा भएको अनुमान गरिएको छ । वरिष्ठ संस्कृतिविद् मिलनरत्न शाक्यका अनुसार शान्तिपुरभित्र भएका भित्तेलेखन मल्लकालीन समयसँग मिल्दोजुल्दो पाइएको छ । आठौँदेखि १२औँ शताब्दीबीचमा सो मन्दिर निर्माण भएको विश्वास गरिएको छ ।

तन्त्रको दीक्षा लिई साधना गर्न सक्ने १२ स्थानीय जनशक्तिले मात्र मर्मत कार्य गरिरहेकाले गत असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने जीर्णोद्धार अहिलेसम्म पनि सकिएको छैन । चालू आवभित्र मर्मत सक्ने लक्ष्य राखिएको छ । स्वयम्भू महाचैत्यदेखि करीब ३०० मिटरको दूरीमा रहेका उक्त सम्पदा मर्मत गर्न पुरातत्व विभागले अनुमति दिएपछि महासमितिले आफ्नो खर्चमा जीर्णोद्धार थालेको हो । उक्त सम्पदा पुरानो भए पनि पछिल्लो समय विकास भएका प्रविधिको प्रयोग गरी मर्मतसम्भार गरिने योजना छ ।

काठमाडौँ महानगरपालिका–१५ मा पर्ने स्वयम्भूको संरक्षण तथा व्यवस्थापनमा सक्रिय महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले उक्त सम्पदा स्वदेशी तथा विदेशी दातृ संस्थाबाट सङ्कलन गरेको आर्थिक स्रोत खर्च गरिएको जानकारी दिनुभयो । महासमितिका अनुसार करीब ६० प्रतिशत मर्मत सकिए पनि मसिनो अन्तिम काम हुन समय लाग्ने छ ।

स्वयम्भू तथा त्यस वरपर क्षेत्रमा शान्तिपुर, अग्निपुर, वायुपुर, नागपुर, अनन्तपुरलगायत महत्वपूर्ण सम्पदा छन् । अग्निपुर, शान्तिपुर, प्रतापपुर र पुरानो तामाङ गुम्बा पूर्णरूपमा भत्किएका सम्पदा हुन् । पुरातत्व विभागका अनुसार त्यस भूकम्पमा परी कूल ७५३ चैत्य, मन्दिर तथा गुम्बामा क्षति पुगेको थियो । देशभर भूकम्पबाट क्षतिग्रस्त भएका विभिन्न धार्मिक तथा पुरातात्विक महत्वको बौद्ध, चैत्य, गुम्बा तथा मठमन्दिरको जीर्णोद्घार छिटो हुन सकेको छैन ।

संस्कृत भाषामा स्वयम्भूको अर्थ स्वयं उत्पत्ति भएको भूमि हुन्छ । स्वयम्भूलाई कपिलवस्तुमा भेटिएका स्तूपपछिको सबैभन्दा पुरानो स्तूप मानिएको छ । गोकर्ण र हाँडीगाउँमा भेटिएका शिलालेखमा स्वयम्भूको वर्णन गरिएको महासमितिका उपाध्यक्ष ज्ञानु लामाले जानकारी दिए । स्वयम्भूमा बुद्ध पूर्णिमा र श्रीपञ्चमीमा हुने विशेष पूजामा मेला लाग्छ ।

पौराणिक कालमा विपस्वी बुद्धले रोपेको कमलको बीउबाट तेजिलो प्रकाश प्रकट भई स्वयम्भू महाचैत्य उत्पत्ति हुन गएको केही बौद्ध अनुयायीले विश्वास गरेको पाइन्छ । ती अनुयायीका अनुसार दैवी शक्तिबाट उत्पन्न भएको स्वयम्भू महाचैत्य दर्शनका लागि चीनबाट महामञ्जुश्री काठमाडौँ आएको र काठमाडौँ उपत्यकामा जलमग्न रहेको पानी निकास दिन चोभारको डाँडा छेदन गरी बस्ती विकास गरेको किंवदन्ती पाइन्छ ।

विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार विभाग र महासमितिको सहकार्य र समन्वयमा यहाँका सम्पदा मर्मत भइरहेका छन् । करीब दुई महिना अगाडि विभागले युनेस्कोको सहयोगमा बहुमङ्गलद्वार मर्मत गरेको थियो । भूकम्पबाट क्षति पुगेका मन्दिर तथा पाटीपौवा, चैत्यलगायत सम्पदामध्ये करीब २०० वटाको पुनःनिर्माण गरिएको छ ।

रासस

कमेन्ट गर्नुहोस्