आज पनि नेकपाको सतिवालय बैठक, यस्ता छन् छलफल हुने विषय

काठमाडौं, कार्तिक ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज (सोमबार) पनि बस्दैछ । आइतबार बाँकी रहेका विषयमा छलफल हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बताए ।

 

पार्टीमा आन्तरिक विवाद चुलिँदै गएका बेला लगातार स्थगित भएको सचिवालय बैठकमा सबै विषयमा बिस्तारमा छलफल गर्न दुई दिने बैठक बसेको हो ।

 

आइतबारको बैठकले काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले वामदेव गौतमका लागि संसद प्रवेशको मार्ग प्रसस्त गर्ने उद्देश्यसहित राजीनामाका लागि स्वीकृति माग गर्दै पेश गरेको पत्र अस्वीकृत गरेको थियो । यससँगै वामदेवको संसद पुग्ने सपना समाप्त भयो भने रामवीरले राजीनामा दिनु परेन ।

 

प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको चयनमा वरिष्ठ नेता माधवकुमार नेपालको सार्वजनिकरूपमा व्यक्त गरेको असन्तुष्टि, उपनिर्वाचन, मन्त्रीहरूको कार्यक्षमता लगायतका विषयमा विवाद साम्य नहुँदा सचिवालय बैठक पटकपटक सर्दै आएको थियो ।

 

बैठकमा प्रदेश कमिटिको पूर्णता, जिल्ला कमिटिको गठन, यही कात्तिक १२-१३ गते हुने स्थायी समिति बैठकको कार्यसूचि तर्जुमा, पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफलको कार्यसूचि छ । यी सबै विषयमा सोमबारको बैठकमा छलफल हुनेछ ।

 

यस्तै पार्टीलाई अझ बढी सुदृढ एकताका आधारमा साङ्गठनिक एकतालाई हरहालतमा टुङ्गो लगाई एकताबद्ध पार्टी र नेतृत्वका आधारमा सरकारलाई सफल बनाउन आवश्यक सबै निर्णय गर्ने बारेमा खुला र गम्भीर छलफल भइरहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्