देउवाले कार्यकाल १ वर्ष लम्ब्याउन मिल्दैन : शशांक काेईराला

मोरङ — कांग्रेस महामन्त्री शशांक कोइरालाले पार्टी महाधिवेशन समयमा हुनुपर्ने बताएका छन् ।विराटनगरमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले अर्ली अधिवेशन नभए कमसेकम समयमा महाधिवेशन हुनुपर्ने बताएका हुन् । 

पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल एक वर्ष थपेर लम्ब्याउन नमिल्ने उनको भनाई थियो । ‘पार्टीभित्रको गुट उपगुट समाप्त पारेर पार्टी अधिवेशनमा जानुको विकल्प छैन,’उनले भने,‘गुट उपगुटकै कारण निर्वाचनमा पार्टीले हार व्यहोरिनु परेकाले यसलाई समाप्त गरेर संगठन निर्माणमा जानुपर्छ ।’

सरकार असफल हुँदै

कांग्रेसका अर्का नेता तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारले दुई तिहाईको सरकार असफल बन्दै गएको बताएका छन् । मुलुकमा कुनै चमत्कार नभए आठ महिने कार्यकाल हेर्दा अहिलेको सरकार असफल भइसकेको उनले बताए ।

‘सामान्य बहुमतको सरकारले गर्ने जति पनि काम अहिलेको दुई तिहाईको सरकारले गर्न सकेको छैन,’उनले भने,‘मुलुकको हरेक क्षेत्रमा बेथिति मौलाएको छ ।’ मुलुकमा हत्या, बलत्कार दिन प्रतिदिन बढ्दै गएर अमनचयन भंग भएको उनको भनाई छ । भ्रष्टाचार मौलाउनुका साथै दण्डहिनता,अशान्ति बढ्दै गएको उनले सुनाए ।

सरकारले संघीय लोकतन्त्रलाई खतरा हुने कुनै कार्य गरे कांग्रेस चुप लागेर नबस्ने गच्छदारले बताए ।

‘सरकारले दुई तिहाईको दम्भमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान असफल बनाउने कुनै किसिमको क्रियाकलाप गरे कांग्रेसलाई मान्य हुँदैन,’उनले भने,‘अहिलेको सरकारले आफ्नो कार्यकाल ईमान्दार भएर देश र जनताप्रति समर्पित भई काम गर्नुपर्ने बेला हो र यस कार्यमा कांग्रेसले रचनात्मक सहयोग गर्छ । त्यसैले जन भावना विपरीत कुनै काम सरकारले गर्नु हुँदैन ।’

kanripurdaily बाट

कमेन्ट गर्नुहोस्