हिमालय एयर्लाइन्सले थाल्यो चीन उडान

काठमाडौँ, कार्तिक ५। नीजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयर्लाइन्सले काठमाडौँ-चोङकिङ-काठमाडौँ रुटमा उडान थालेको छ। चीनको पर्यटकीय शहर चोङकिङ उडान गर्ने यो पनिलो वायुसेवा कम्पनी रहेको बताइएको छ।

कम्पनीले १ कात्तिकमा चीनको पर्यटकीय सहर चोङकिङमा पहिलो उडान भरेको थियो । कम्पनीले सुरुवाती चरणमा हरेक साता बिहीबार चोङकिङ–काठमाडौं रुटमा चार्टर्ड उडान गर्ने जानकारी दिएको छ ।

गत शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय दिउँसो ४ः५५ मा उडको जहाज चोङकिङस्थित जियाङबेई अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय रातको ११ः०५ मा अवतरण गरेको थियो । शनिबार चोङकिङबाट हिमालय एअरलाइन्सको जहाज स्थानीय समय रातको १२ः०५ मा उडान गरी काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रातको १ः५५ मा अवतरण गरेको थियो ।

चिनियाँ पर्यटक तान्ने लक्ष्य
कम्पनीका उपाध्यक्ष उपाध्यक्ष विजय श्रेष्ठका अनुसार यस सहरबाट चिनियाँ पर्यटकलाई लक्षित गरी काठमाडौं उडान सुरु गरिएको हो । ‘चीन हाम्रो लक्षित बजारमध्ये एक हो । हामी एक पाइला अगाडि सर्न पाउँदा हर्षित छौँ,’ उनले भने, ‘चोङकिङमा विदेश यात्रा गर्ने मानिसहरू प्रशस्त छन्, यस उडानबाट बढी चिनियाँ पर्यटक नेपाल भित्र्याउन सहयोग पुग्ने छ ।’ नेपालमा भारतपछि सबैभन्दा बढी पर्यटक चीनबाट आउने गरेका छन् । सन् २०१८ को जनवरीदेखि सेप्टेम्बरसम्म १ लाख ९ हजार ४ सय ९७ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

अघिल्लो वर्ष २०१७ को सोही समयको तुलनामा नेपाल आउने चिनियाँ पर्यटकको संख्यामा ४८.८ प्रतिशतले वृद्धि भएको तथ्यांक छ । चोङकिङ–काठमाडौंबीच सीधा हवाई सम्पर्कसँगै हिमालय एयरलाइन्सले नेपाली पर्यटन अर्थतन्त्रमा थप योगदान दिने अपेक्षा गरेको कम्पनीले उल्लेख गरेको छ ।

चीनको केन्द्रीय शासित सहर बेइजिङ, सांघाई, ग्वाङझाउ र तियानजिनसँगै चोङकिङ पनि एक हो, जहा“ ठूलो संख्यामा पर्यटक पुग्ने गर्छन् । समृद्ध इतिहास र सांस्कृतिक सम्पदाका माध्यमबाट यो सहर प्रख्यात छ । आर्थिक र उत्पादनको केन्द्रको रूपमा विकसित चोङकिङ दक्षिणपूर्वी परिवहनको केन्द्रको रूपमा समेत स्थापित भएको कम्पनीले उल्लेख गरेको छ ।

अन्य सहरमा उडान विस्तारको योजना
अगस्ट २०१४ मा स्थापना भएको हिमालय एयरलाइन्स अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्ने नेपालमा सञ्चालित निजी क्षेत्रको विमानसेवा हो । कम्पनीले चीनमा दोस्रो चरणमा बेइजिङ, हाएकाउ, नान्चाङलगायत सहरमा उडान विस्तारको योजना बनाएको छ । नेपाल–चीन संयुक्त लगानीमा हिमालय एयरलाइन्ससँग तीनवटा ए३२० सिरिजका जहाज छन् । यी जहाजमा बिजनेस क्लासमा ८ र इकोनोमी क्लासमा १५८ सिट छन् । कम्पनीले अहिले दोहा, क्वालालम्पुर, दुबई र दमाम गरी चारवटा गन्तव्यमा नियमित उडान गरिरहेको छ ।

नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्