निर्मला हत्याकाण्डमा प्रहरी निरीक्षक भट्टलाई फसाइएको परिवारको आरोप

भीमदत्त नगर, कार्तिक ५। निर्मल पन्त हत्याकाण्डको अनुसन्धानमा लापरवाही गरेको भन्दै बर्खास्तगीका लागि प्रहरी उपरीक्षक डिल्लीराज बिष्टसँगै सिफारिस गरिएका प्रहरी निरीक्षक जगदीश भट्टको परिवारले उनलाई ‘बलिको बोको’ बनाइएको आरोप लगाएको छ।

सोमबार भीमदत्त नगरपालिका-१८ निम्बुखेडास्थित घरमै पत्रकार सम्मेलन गर्दै भट्टको परिवारले उनलाई फसाउन खोजेको आरोप लगाएका छन्। प्रहरी निरीक्षक भट्टकी श्रीमती निर्मला भट्ट(बसन्ती)ले सरकारले श्रीमानलाई फसाउन खोजेको बताइन् । उनले अनुसन्धान अधिकारी र मुद्दा फाँटका इन्चार्ज नभइ घटना भएको क्षेत्रमा वडा इन्चार्ज भएका कारण उनलाई फसाउन खोजेको गुनासो पोखिन् ।

‘मेरा श्रीमानलाई प्रहरीका उच्च अधिकारीले बारम्बार हत्यामा तेरो पनि संलग्नता छ, हत्यारालाई सघाएको छस, त्यो उखुबारी पनि तेरै आफन्तको हो भन्दै मानसिक यातना दिईरहेका छन्,‘ उनले भनिन्, ‘श्रीमानलाई झुटको खेती गरिरहेको छस, जेल हालिदिन्छु भन्दै प्रहरीबाटै धम्की आईरहेको छ ।’

निर्मला हराएको विषयमा पीडित परिवारले वडा कार्यालयमा फोन मार्फत जानकारी गराएको र हुलिया सहित फोटो ल्याउनु भनेर श्रीमानले भनेको उनले बताइन् । निर्मलाको शव फेला पर्ने वित्तिकै श्रीमानले नै बमको घरमा खानतलासी र सोधपुछ गरेको उनले बताइन् । ‘अधिकार माग्दा अरुको अधिकार पनि खोसिन्छ, आज मलाई भएको पीडा कसले बुझिदिने ?’ उनले प्रश्न गरिन् ।

निर्मला पन्तको बलात्कार पछि हत्याको अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश प्रसाद भट्टलाई बर्खास्तीका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।

कमेन्ट गर्नुहोस्