बाजुराका धामीझाँक्री अध्ययन भ्रमणमा

बाजुरा, कार्तिक ६ । यहाँको गौमूल गाउँपालिकाले धामीझाँक्रीका लागि अध्ययन भ्रमण तय गरेको छ । गाउँपालिकाले पुरानो चिन्तन भएका धामीझाँक्रीका लागि सामाजिक सचेतना र सकारामक सोच अभिवृद्धिका लागि उक्त भ्रमण तय गरेको हो ।

धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा परिचित क्षेत्रको अध्ययन अवलोकन र मनोक्रान्तिका अभियानकर्मी विकासानन्दको प्रवचन पाठ सुनाउन भ्रमण गराउन लागिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए । भ्रमण पशुपतिनाथ, लुम्बिनी, बौद्ध, स्वयम्भूलगायत क्षेत्रमा गरिने बताइएको छ ।

सामाजिक सचेतना दिलाउन, मानसिक रूपमै सकारात्मक सोचको विकास गराउन र बाह्य संस्कृतिको विकासबारे जानकारी दिन भ्रमण गराउन लागिएको वडाका उपाध्यक्ष सीता थापाले बताए ।

भ्रमण यही कार्तिक १४ गतेसम्म हुने बताइएको छ । छ वडाका दुई दुई धामीझाँक्री तथा एक एक जनप्रतिनिधिसहित कर्मचारी टोलीमा सहभागी छन् । पहिलो चरणमा ४ महिला र १८ पुरुष गरी २२ जना भ्रमणमा सहभागी छन् ।

गौमूल गाउँपालिकाले यसअघि मेमोरी किङ मानिने अर्पण शर्मालाई बोलाएर प्रशिक्षण सञ्चालन गरेको थियो । समाजमा रहेको छाउ कुप्रथा, बालविवाह, बहुविवाह, धार्मिक तथा सांस्कृतिक आस्थालाई अन्त्य गर्नु पहिलो चुनौती भएकाले त्यसका लागि अवलोकन भ्रमणले सकारात्मक उपलब्धि हासिल हुने विश्वास गाउँपालिकाले लिएको छ । टोलीको भ्रमण खर्च गाउँपालिकाले नै व्यहोर्नेछ ।

रासस

कमेन्ट गर्नुहोस्